एसइई पूरकको काम सकियो



काठमाडौ,असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा प्रकाशनसम्बन्धी कार्य अन्तिम चरणमा पुर्‍याएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम सकिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, “हाम्रा तर्फबाट गर्नुपर्ने सबै काम सकेका छौँ । अब सोमबार बोर्डमा जानकारी गराउँछौँ । बोर्डले आफू अनुकूल निर्णय गरे नतिजा सार्वजनिक गर्ला ।”

यसअघि बोर्डले दसैँअघि नै नतिजा प्रकाशन गर्ने गरी काम गरेको थियो । तर सोचेभन्दा निकै छिटो काम भएको पौडेलले जानकारी दिए । ग्रेड वृद्धि परीक्षाको उत्तरपुस्तिका परीक्षण उपत्यकाका तीनसहित ३४ वटा केन्द्रबाट भएको थियो ।  

बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय कात्तिक १५ गतेभित्रलाई तोकिएको छ । विलम्ब शुल्क तिर्नेका लागि भनेर कात्तिक ३० भित्रको समय तोकिएको छ ।

तर कुन दिनदेखि फाराम भर्न पाइने भन्ने विषयमा बोर्डले वार्षिक कार्यतालिकामा नखुलाए पनि सामान्यतया एक महिनाको समय राखेर फाराम भर्न लगाइने चलन छ ।

२०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन् । ग्रेडिङ निर्देशिका, २०६८ मा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । निर्देशिकाको उक्त व्यवस्थालाई संशोधन गरी परीक्षामा अनुपस्थित तथा ननग्रेडेड सबैलाई परीक्षामा सामेल हुने अवसर दिइएको थियो ।

दुई लाख ३४ हजार विद्यार्थीको एनजी आएकोमा ग्रेड वृद्धि परीक्षामा भने दुई लाख नौ हजार ८०४ विद्यार्थी मात्रै सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्