गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशी पक्राउ



काठमाडौं,असोज ७ । सहकारी संस्थाका बचत अपचलनमा मुछिएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । 

गृहमन्त्री रमेश लेखकले संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको केही घन्टामै उनी पक्राउ परेका हुन् । गृहमन्त्री लेखकले आइतवार प्रहरी प्रधान कार्यालयलाई छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । 

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले हालै बुझाएको प्रतिवेदनमा सहकारीको बचत अपचलनमा उनलाई पनि कारबाही सिफारिस गरेको थियो । 

छानबिन समितिले उनीसहित कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत चार जनालाई कारबाही सिफारिस गरेको छ । 

जोशीले छानबिन समितिको सोधपुछमा भने आफूलाई कम्पनीको आर्थिक मामिलाबारे जानकारी नभएको बताएको प्रतिवेदनमा उल्लेख छ । 

शुरुआती समयमा उनको गोरखा मिडियामा ३५ प्रतिशत शेयर थियो । ग्यालेक्सी टेलिभिजन सञ्चालन भएको केही समयपछि भने उनले कम्पनी छाडेका थिए । त्यसपछि उनको नाममा रहेको शेयर अध्यक्ष राईकै नाममा रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्