मेडिकल व्यवसायी दुर्गा प्रसाईं निवासबाटै पक्राउ



काठमाडौं,असोज ७ । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको हो । व्युरोबाट पक्राउ गर्न गएका प्रहरीले भर्‍याङको सहारामा उनको भक्तपुरस्थित घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । 

प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । ‘प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य टीका संग्रौलालगायतका महिलाले उनीहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएका थिए । प्रसाईमाथि व्यक्तिको चरित्रहत्या गर्ने, आपत्तिजनक अभिव्यक्ति दिने गरेको आरोप छ । प्रसाईंलाई अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ । हातपातमा उत्रिएको भन्दै प्रसाईंसँगै उनका अंगरक्षकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउका क्रममा प्रसाईंले अपशब्द प्रयोग गर्दै गालीगलौजमा उत्रिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्