गर्मी बढेपछि विद्यालयमा बिदा
महोत्तरी,असोज ६ । असोज महिनामा पनि अत्यधिक गर्मी बढेपछि मनराशिसवा नगरपालिकाले पालिकाको सम्पूर्ण विद्यालयमा बिदा दिएको छ । मनराशिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि ११ गतेसम्म पालिकाका विद्यालयहरुमा बिदा दिएका हुन् ।
उनले पालिकाको असोज ६ गतेको निर्णय अनुसार वर्षे बिदामा कट्टा हुने गरि यस नगरपालिका अन्तर्गतका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी बिदा दिइएको जानकारी दिए । अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई विचार गरी विद्यालयमा बिदा दिइएको हो ।
मनराशिसवा नगरपालिकामा २३ वटा सामुदायिक तथा छ वटा संस्थागत विद्यालयहरुमा करिब आठ हजारभन्दा बढी बालबालिका अध्ययन गर्दै आएका छन् । महोत्तरीमा केही दिनयता तापक्रम ३५ डिग्रीको हाराहारीमा रहने गरेको छ ।
महोत्तरीकोे अधिकांश विद्यालयको छाना चदराको रहेको कारण गर्मीमा अत्याधिक गर्मी भई विद्यार्थीहरुलाई असहज बनाउने गरेको छ । जलेश्वर नगरपालिका ४ का ६२ वर्षीया जवार धोवीले असोज महिनामा यति गर्मी पहिला आफूहरुले नभोगेको बताए। कपडा धुने काम गर्दै आएका उनले असोज महिनाको मौसम न बढी गर्मी न बढी जाडो मिश्रित रहँदै आएको बताउदै पहिलो हप्तासम्म यतिको गर्मी बढेकोले कामकाजमा असहजता भएको बताए ।