सर्पको टोकाइबाट महिलाको मृत्यु



प्युठान,असोज ६ । सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।

मल्लरानी गाउँपालिका –३ चुँजाठाटीमा बस्दै आउनुभएकी के.सी.लाई शौचालयमा सर्पले टोकेको स्थानीय श्याम थापाले बताए । “शौचालयमा मुसाको गुँड हटाउनेक्रममा टोकेको रहेछ” उहाँले भन्नुभयो, “मुसाले टोकेको होला भनेर ख्याल गर्नु भएनछ, पछि शरीर झम्म पार्न थालेपछि मात्र उपचारका लागि पठाइएको थियो ।”

स्वर्गद्वारी नगरपालिका –९ लामाचौरस्थित शर्पदंश उपचार केन्द्रमा उपचारका लागि पुगाए लगत्तै के.सी.को मृत्यु भएको थियो । शर्पदंश उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले विरामी अचेत अवस्थामा रहेको र उपचार गरे पनि सुधार नभएको बताए । 

“हामीले रिसिभ गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो” उनले भने, “उपचारका क्रममा सुधार आएन, शवलाई जिल्ला अस्पताल पठायौं ।” नौबहिनी स्थायी घर भएपनि के.सी.को परिवार मल्लरानी गाउँपालिका –२ मा अस्थायी रुपमा खेती किसानी गरेर बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्