इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन – एनसेल



काठमाडौं,असोज ६ । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै  समाचारहरू प्रकाशित भएको भन्दै त्यस्ता समाचारको खण्डन गरेको छ ।

एनसेलले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको बताएको छ । तर एनसेलले ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको नहुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । 

‘एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर काम गरिरहेको भन्दै आफ्ना सेवाहरू विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त छौं,’ एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एनसेलले एक जिम्मेवार सेवा प्रदायकको रूपमा सधैँ पारदर्शिता र सबै सरोकारवालाहरू माझ सही सूचना प्रवाहलाई प्राथमिकता दिदैँ आएको बताएको छ । विकसित  घटनाक्रम अनुसार आवश्यक समयमा  उपयुक्त जानकारीहरू प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ । 

एनसेल सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि आफ्नो आधिकारिक धारणा बुझिदिन समेत एनसेलले आग्रह गरेको छ । ‘हाम्रा निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धी हुने भएकोले हामीसँग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरूलाई अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्