प्रविधि पत्रकार मञ्च (टीजेएफ)को ११ औं बार्षिक साधारणसभा सम्पन्न



काठमाडौं,असोज ६। प्रविधि पत्रकार मञ्च (टीजेएफ) को ११ औं बार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

साधारणसभामा  संस्थाका संस्थापक अध्यक्ष  रमेश श्रेष्ठले विगत ११ वर्षमा व्यापक परिवर्तन भएको र त्यसका संवाहक सञ्चारकर्मी पनि भएको बताए । उनले प्रविधि क्षेत्रमा कलम चलाउनु नै सबै भन्दा महत्वपूर्ण भएको बताए। उनले अब सूचना प्रविधि क्षेत्रको विस्तार धेरै भएको बताउँदै यस क्षेत्रका सेवा प्रदायक, त्यसको असर, प्रभाव लगायत फराकिलो तरिकाले हेर्नुपर्ने बताए । यसका लागि सरकारी, निजी तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय गर्न सकिने बताए।

उनले दूरसञ्चार क्षेत्रको नीति र कानुन हालकै अवस्थामा रहने हो भने अबको ६/७ वर्षमा यो क्षेत्र संकटमा पर्ने अवस्था रहेको बताए । अहिलेनै  संकेत स्पष्ट रूपमा देखिएको उनको भनाइ थियो । 

संस्थाका पूर्वअध्यक्ष सरस्वती ढकालले संस्था ११ वर्ष पुगेको अवसरमा यसमा आवद्ध र योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले प्रविधि जसरी अगाडि बढ्छ त्यसरी नै संस्था र आफूहरू पनि अघि बढ्दै जानुपर्ने बताइन्। उनले संस्थाको युनिटीलाई कायम राख्दै अघि बढ्न आग्रह गरिन्।

संस्थाका पूर्वअध्यक्ष विश्वास रेग्मीले संस्था चलाउने कुरा जटिल हुँदै गएको बताए । उनले संस्थाका सदस्यको क्षमता अभिवृद्धि सबैभन्दा महत्वपूर्ण रहेको भन्दै  प्राथमिकतामा राख्न आग्रह गरे । यस क्षेत्रमा काम गर्ने सदस्यहरूको आवश्यकता अनुसार प्रभावकारी तालिम प्रदान गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ। उनले संस्था ११ वर्ष पुगेको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे।

संस्थाका निवर्तमान अध्यक्ष गोपाल साउदले संस्थाको उद्देश्य र औचित्य साबित गर्ने तरिकाले काम गर्नुपर्ने बताए । उनले हरेक सरकारी र निजी क्षेत्रसँग प्रविधि पूर्ण रूपले जोडिएको बताउँदै यी विषय आमनागरिकसम्म पुर्‍याउन संस्थाले सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने बताए।

त्यस्तै मञ्चका अध्यक्ष उमेश पौडेलले संस्थाले सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न काम गरेको बताउँदै थप तालिमका कार्यक्रमहरू, अनुसन्धान परियोजनाहरू, र अन्तर्राष्ट्रिय स्तरमा प्रविधि पत्रकारहरूसँग साझेदारी गर्ने प्रयासमा रहेको बताए । 

नेपाल सरकारका निकाय तथा अन्य संघ संस्थाहरूसँग पनि सहकार्यका लागि निरन्तर लागि पर्ने उनले बताए। उनले आगामी दिनमा संस्थाले अझै थप कार्यक्रम गर्दै सूचना प्रविधि र यस क्षेत्रमा सक्रिय सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा काम गर्ने बताए।

कार्यक्रममा मञ्चका कोषाध्यक्ष अनिल न्यौपानेले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

सन् २०१४ मा स्थापित टीजेएफ सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीको छाता संस्था हो । संस्थाले यस क्षेत्रमा कलम चलाउने  सञ्चारकर्मीको क्षमता अभिवृद्धि, कानुन निर्माण तथा कार्यन्वयनमा राज्यलाई सहयोग गर्ने तथा सूचना, विज्ञान प्रविधिलाई आम जनतालाई सूचित गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्