वीरगञ्ज नाका : वैदेशिक व्यापार घट्दो, २ महीनामा १ खर्बको व्यापार, २५ अर्ब राजस्व



वीरगञ्ज,असोज ६ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महीनामा वीरगञ्ज नाकाबाट १ खर्ब ९५ करोड रुपियाँबराबरको वैदेशिक व्यापार भएको छ । एकीकृत जाँच चौकी (आईसीपी) भन्सारका अनुसार चालु वर्षको साउन र भदौमा सो मूल्यको आयातनिर्यात भएको हो । 

अघिल्लो आव २०८०/८१ को शुरू २ महीनाको तुलनामा चालु वर्षको सो समीक्षा अवधिमा कुल वैदेशिक व्यापारमा गिरावट आएको भन्सारले वेबसाइटमा राखेको तथ्यांकमा उल्लेख छ । गत आवको साउन र भदौमा १ खर्ब ४ अर्ब ९८ करोड रुपियाँबराबरको व्यापार भएको आँकडा भन्सारसित छ । 

चालु आवको २ महीनामा ९५ अर्ब ६८ करोड रुपियाँबराबरको मालसामान आयात हुँदा निर्यात व्यापार भने ५ अर्ब २६ करोड रुपैयाँको मात्रै भएको छ । चालु आवको २ महीनामा आयात र निर्यात घटेको भन्सारले बताएको छ । 

यो नाकाबाट मुख्यत: सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको आयात बढी हुन्छ । निर्यातमा जुस, कपडा, धागो, जुत्ता, प्रशोधित तेललगायतका उत्पादन पर्दछन् । 

दुई महीनामा भन्सारले २५ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाएको छ । यो रकम भन्सारलाई तोकिएको ३५ अर्ब ५७ करोड रुपैयाँको ७१ प्रतिशत हो । ९ अर्ब ५८ करोड रुपयाँ भन्सार महशुल, ४ अर्ब ९७ करोड रुपैयाँ मूल्यअभिवृधिकर, ९५ करोड रुपैयाँ अन्त:शुल्क लगायतका शीर्षकमा राजस्व उठेको भन्सारको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस्