प्रेस काउन्सिल नेपालले घोषणा गर्‍यो विभिन्न पुरस्कार घोषणा



काठमाडौँ, असोज ५ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ । 

तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलो पल्ट हो ।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो। शर्मा उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुन ।

यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरिने निर्णय भएको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपियाँ रहेको छ । 

काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो । पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन्  । उनले विभिन्न सञ्चारमाध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयमा केन्द्रित रही पत्रकारिता गर्दै आएका छन्  । उनी हाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्य समेत हुन ।

यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गर्ने निर्णय समेत भएकोे छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो । स्थापनाको ५५ वर्ष पुगेको अवसरमा असोज ६ गते आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काउन्सिलले यी पुरस्कार प्रदान गर्दैछ । सोही दिन काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान समेत गर्ने निर्णय गरेको छ ।

वार्षिकोत्सवको  पूर्वसन्ध्यामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पेसागत मर्यादा, प्रतिष्ठामा आँच नआउने गरी विश्वसनीय पत्रकारिता विकास गर्न नेपाली सञ्चारजगतले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्  । 

मिडियामा युट्युवसहित सामाजिक सञ्जालको बाक्लो उपस्थिति भइरहेको सन्दर्भमा रचनात्मक पत्रकारिताको प्रयोगमार्फत यो क्षेत्रलाई बलियो बनाउन सञ्चार क्षेत्र र सम्बद्ध पक्ष गम्भीर भएर जुट्नुपर्ने खाँचो समेत उनले औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्