वर्तमान सरकार निर्माण पश्चात् देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा



काठमाडौ,असोज ५ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् । 

उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनिबार सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए ।

“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भने । उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे । उनले भने, “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।” उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए ।

सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए । “अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ”, सभापति देउवाले भने।

प्रतिक्रिया दिनुहोस्