कपिलवस्तुमा हतियारसहित दुई भारतीय नागरिक पक्राउ



कपिलवस्तु,असोज ५ । जिल्लाको कृष्णनगर नगरपालिका ८ सानो गणेशपुर चोकबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बेला चेकजाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको बताए ।

उनिहरुको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको उनले बताए । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबि महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितम कुमार र देवापार, देवापार हरनखा बस्तीका २२ वर्षीय सुरज द्धिवेदी रहेको प्रहरी नायब उपरीक्षक वलीले बताए।

सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको उनको भनाइ छ । उनीहरुको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लाष्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरु समेत बरामद भएको छ ।

दुबै जना लागूऔषध सेवन गरी लठ्ठीएको अवस्थामा पक्राउ परेका थिए । घटनाको अनुसन्धान  र दुबै जनासँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक वलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्