१९ वटा गाई गोरुसहित २ जना पक्राउ



नवलपुर, आसोज ५ । मिनी ट्रकमा खाँदाखाँद गरेर गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ । 

शुक्रबार नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ८ बाट ग. प्र. ०३–००१ ख २२७० मिनि ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा दाउन्ने प्रहरीले १९ वटा जर्सी प्रजातिका गाई र गोरुलाई नियन्त्रणमा लिएको हो । 

१५ वटा गाई र ४ वटा गोरु मासु परियोजनका लागि बिक्रीको लागि लागिएको सूचनाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जसमध्ये एउटा गाई र एउटा गोरु ट्रकमै मृत अवस्थामा फेला परेका थिए । 

पछिल्लो तीनवर्ष यता दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका प्रहरी प्रमुखसँग सेटिंग मिलाएर विभिन्न स्थानमा खरिद गरिएको चौपाय मासुको प्रयोजनका लागि पूर्वी नाका हुदै बंगलादेश लैजाने गरेको पाइएको छ । प्रहरीले ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिइएको गाई गोरुलाई त्रिवेणी गजेन्द्र मोक्षधाममा लगिए पनि त्यहाँ राख्न नमाने पछि जहाँबाट ल्याएको हो त्यही लगेर छाड्न लगिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । 

मरेका दुईवटा पशुलाई भने स्थानीय जनप्रतिनिधिको रोहबरमा खाडल खनेर गाडिएको छ । प्रहरी उपरीक्षक रेग्मीले गाईगोरु तस्कर गर्नेलाई कारवाहीको लागि कानुनी प्रक्रिया अगाडि बढाइने बताए।

प्रतिक्रिया दिनुहोस्