पत्रकार शम्भु श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’



काठमाडौं,असोज ५ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । स्व. गौतमको दोस्रो स्मृति दिवसको अवसरमा गत बुधवार भक्तपुरमा आयोजित कार्यक्रममा एक लाख रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कृत हुने श्रेष्ठ पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी दृष्टि साप्ताहिकका सम्पादकसमेत हुन् । 

उनले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीको उपचारका लागि समर्पित गरेका छन् । दियालीको उपचारका लागि करेन्ट पब्लिकेशनले पनि थप ५० हजार रकम दिने घोषणा गरेको कम्पनीका प्रबन्ध निर्देशक किरण गौतमले जानकारी दिए । 

उक्त पुरस्कार करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको हो । कार्यक्रममा अन्य दुई प्रतिष्ठित व्यक्तिहरू गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई सम्मान गरिएको छ । कम्पनीका अध्यक्ष प्रदीपा गौतमले उनीहरूलाई प्रशंसापत्र र जनही ५० हजार रुपैयाँ हस्तान्तरण गरिन् ।  

अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा जिन्क ब्लक बनाउने व्यक्तिका रुपमा परिचित छन् । यस्तै, रघु घिमिरेले नेपाली पत्रकारितामा अतुलनीय योगदान दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्