आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुस् : स्वास्थ्यमन्त्री



नारायणगढ,असोज ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्  । भरतपुर आँखा अस्पतालको शुक्रबार निरीक्षण गर्नुहुँदै उनले आँखाको उपचार पद्धतिलाई थप प्रभावकारी गर्न सरकार साझेदारी गर्न तयार रहेको बताए ।

“आँखामा हुने समस्या, आँखा गुम्ने जोखिम, आँखाको रक्षा गर्ने काम उपचार पद्धतिसँग जोडिएको विषय हो । आँखा नभएको शरिर पूर्ण हुन सक्दैन”, उनले भने, “शरीरको पूर्णताका लागि पनि आँखा जोगाउने, उपचार गर्ने जोखिममा पुग्ने स्थिति बनाउन नदिनका लागि उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्छ ।”

भरतपुरको आँखा अस्पताल तुलनात्मक रुपमा व्यवस्थित ढङ्गबाट  अगाडि बढेको बताउदै उनले गैर सरकारी संस्थाहरुको पहलमा आँखा उपचार सेवा प्रभावकारी हुन पुगेको भन्दै नेपाल नेत्रज्योति सङ्घलाई धन्यवाद दिए । उनले सरकारले पनि आँखा उपचारलाई प्राथमिकतामा राख्ने धारणा पनि राखे ।

उनले देशैभरका आँखा अस्पतालहरुमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्