ओखलढुङ्गामा कैदीबन्दीबिच झडप, नाइके र सहनाइकेलाई नुवाकोट सारियो



ओखलढुंगा,असोज ४ । ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार बिहान ३ बजेको समयमा कैदीबन्दीबिच झडप भएको हो । 

कारगारको नाइके र सहनाइकेले आर्थिक शोषणका साथै अपचलन गरेको आरोपमा झगडा भएको बताइएको छ । कैदीबन्दीको आक्रोशित भीड नाइके र सहनाइकेमाथि खनिएकाे थियाे । 

कारागारमा तनाव सिर्जना भएपछि नाइके र सहनाइकेलाई नुवाकोट स्थानान्तरण गरिएको कारागार प्रशासक जेलर लेखनाथ दाहालले बताए । “अवस्था तनावपूर्ण बनेपछि तत्कालको लागि कारागारमा रहेका नाइके र सहनाइकेलाई नुवाकोट कारागारमा स्थान्तरण गरिएको छ,” जेलर दाहालले भने । 

आन्तरिक कलहका कारण उनीहरुबिच झगडा भएको दाहालकाे भनाइ छ । कारागारमा यस्ता घटना बेलाबेलामा भइरहने भएपनि कैदी र नाइके तथा सहनाइकेबिच धेरै असमझदारी बढेपछि झगडाको अवस्था सिर्जना हुने गरेकाे दाहालले बताए । आगामी दिनमा यस प्रकारका घटना हुन नदिनका लागि कारागार प्रशासन थप गम्भीर रहनेसमेत उनकाे भनाइ छ ।

यस्तै, कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दीहरु रहेकै कारण यस्ता समस्या हुने उनले उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्