चाडपर्वलक्षित संयुक्त बजार अनुगमन गर्ने तयारी



काठमाडौ,असोज ३ । सरकारले आउँदो असोज ४ गतेदेखि चाडपर्वलक्षित संयुक्त रूपमा बजार अनुगमन गर्ने तयारी गरेको जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा असोज ४ गतेदेखि विभिन्न १० वटा छुट्टाछुट्टै समूह बनाएर संयुक्त रूपमा चाडपर्वलक्षित अनुगमन गर्ने तयारी भएको हो । 

विभागका निर्देशक डिकबहादुर कार्कीले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशुपन्छी विभाग, कृषि, पशु विभाग, उपत्यकाका तीन वटा जिल्ला प्रशासन र उपत्यका स्थानीय तहबिच समन्वयमा संयुक्त रूपमा अनुगमन गर्ने गरी तयारी गरेको जानकारी दिए । 

उनका अनुसार उजुरी, गुनासोका आधारमा दैनिक तीन/चार वटा टोलीमार्फत अनुगमन गर्दै आएको विभागले चाडपर्वमा बढी खपत हुने खाद्यवस्तु, माछामासु, लत्ताकपडा, भाँडावर्तन, फलफूल, तरकारीलगायतमा अनुगमन गर्नुपर्ने विभिन्न १० वटा टोलीले अनुगमन गर्ने छ । वस्तुगत विज्ञ रहने संयुक्त बजार अनुगमन टोलीले यातायात, राजमार्गका होटल तथा रेस्टुराँ, पसल,  दुध, पानी, मिठाइलगायतको पनि अनुगमन गर्ने छ । 

निर्देशक कार्कीले अरूबेला सबै निकायले आफ्नो तरिकारले छुट्टाछुट्टै बजार अनुगमन गर्ने गरेकोमा चाडपर्वमा संयुक्त रूपमा अनुगमन गर्दा परिणाममा देखाउन सकिने र उपभोक्ताले पनि महसुस गर्न सक्ने भएकाले संयुक्त बजार अनुगमनलाई जोड दिएको बताए । उनले चाडपर्वको समयमा कालोबजारी, खाद्य मिसावट, गुणस्तरहीन वस्तुको बिक्रीवितरण हुन सक्ने भएकाले यसबेला विशेष निगरानीको आवश्यकता हुने भएकाले पनि संयुक्त रूपमा बजार अनुगमन गर्न जरुरी रहेको बताए । 

विभागले बजार अनुगमनको जिम्मा ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा ७५३ वटा स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनका लागि अधिकार प्रत्यायोजन गरिसकेको छ । सबै स्थानीय तहलाई अधिकार दिए पनि बजार अनुगमन प्रभावकारी नभएको विभागले बताउँदै आएको छ । उपभोक्ता अधिकारकर्मीहरू संस्थाले भने हरेक वस्तु तथा सेवाको गुणस्तर र मूल्य अनुगमन चाडपर्वका बेलामा मात्र नभई नियमित गर्नुपर्ने बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्