लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण सम्पन्न



काठमाडौ,असोज ३ । लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । 

लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई अब यही सबस्टेसनमा जोडिने छ । 

उदीपुर सबस्टेसनको निर्माणमा ढिलाइ हुँदा वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत् र दोर्दी कोरिडोर प्रसारण लाइनबाट आएको विद्युत्लाई उदीपुर सबस्टेसनलाई बाइपास गरी मध्यमस्र्याङ्दी विद्युत्गृहको स्विचयार्डमा जोडिएको थियो । 

‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर टान्सफर्मर रहेका छन् । सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणको सफलतापूर्वक परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनरबिचको विद्युत् खरिदबिक्री सम्झौताबमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएकाले अब दोर्दी कोरिडोर प्रसारण लाइनलाई यही सबस्टेसनभित्र छिराएर मध्यमस्र्याङ्दीको स्विचयार्डतर्फ विद्युत् प्रवाह गरिने छ । त्यसपछि मध्यमस्र्याङ्दी–मस्र्याङ्दी १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत स्थानीय रूपमा समेत विद्युत् आपूर्ति गरिने हुँदा त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय हुने बताए । कार्यकारी निर्देशक घिसिङले भने, “आयोजना अन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन आगामी वैशाखभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।” 

प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने बताइएको छ । आयोजना अन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेज अन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । यस प्याकेजको उदीपुर–मार्कीचोक खण्डमा पर्ने ११० वटा टावरमध्ये ९० वटाको जग हालिएको छ । मार्कीचोक भरतपुर खण्डमा पर्ने ८३ वटा टावरमध्ये निजी जग्गामा पर्ने ३५ वटा टावरको जग हालिएको छ ।  

प्रतिक्रिया दिनुहोस्