यस वर्ष बंगलादेशमा बिजुली निर्यात हुने सम्भावना टर्दै



काठमाडौं,असोज ३ । यसै वर्ष बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुने सम्भावना टर्दै गएको छ । विद्युत् निर्यातका लागि नेपाल, भारत र बंगलादेशका निकायबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया लम्बिँदै गएकाले यो वर्षायाममा बंगलादेशमा बिजुली निर्यातको सम्भावना न्यून हुँदै गएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बंगलादेशमा बनेको अन्तरिम सरकार नेपालबाट बिजुली लैजाने कुरामा सकारात्मक रहे पनि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर कहिले हुने भन्ने कुराको टुंगो हालसम्म नलागेकाले यस वर्ष विद्युत् निर्यात नहुने सम्भावना बढेको हो ।

यसअघि बंगलादेशसँग भएको सहमतिअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै विद्युत् निर्यात गर्नेछ । अहिले मध्यसेम्टेम्बर भइसकेकाले नेपाललाई विक्रीका लागि धेरै समय उपलब्ध छैन । डिसेम्बर लागेपछि नेपाल आफैले बिजुली किन्नुपर्ने हुन्छ ।

‘अहिलेसम्म सम्झौता कहिले हुने भन्ने टुंगो नलागेकाले सम्झौता भइहालेमा पनि अब अर्को वर्ष मात्रै विद्युत् निर्यात हुने सम्भावना छ,’ ढकालले भने, ‘सबै प्रक्रिया पूरा गर्दा वर्षायाम सकिने भएकाले यस वर्षका लागि निर्यातको सम्भावना नदेखिएको हो ।’ 

नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच गत साउन १३ गते त्रिपक्षीय सम्झौता हुने तय भएको थियो । तर, बंगलादेशमा भएको आन्दोलनका कारण तत्कालीन बंगलादेशी सरकारप्रमुख शेख हसिनाले देश छाडेसँगै सम्झौता अन्योलमा परेको थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले पनि बंगलादेशमा बनेको अन्तरिम सरकार नेपालको बिजुली किन्न सकारात्मक रहेको बताए । ‘बंगलादेशलाई बिजुली आवश्यक छ । तर, यो सम्झौता नेपाल र बंगलादेशबीच मात्रै नभएर भारतसँग पनि गर्नुपर्ने भएकाले त्रिपक्षीय हुन्छ । त्यसकारण तीनओटै मुलुकका अधिकारीहरूका लागि मिति तय गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको छ । सकेसम्म चाँडै सम्झौताको मिति तय गर्ने अनौपचारिक छलफल भइरहेको छ । तर, मिति अझै टुंगो लागेको छैन । तर, जतिसक्दो चाँडो गर्ने तयारी छ,’ उनले भने ।

सम्झौतापछि भारतीय अनुदानमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्ने प्राधिकरणको तयारी छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मीटर मुजफ्फरपुरमा रहनेछ ।

नेपालबाट प्रत्येक महीना २८ हजार ८०० मेगावाट आवर विद्युत् निर्यात हुने भएकाले ५ महीनामा १ लाख ४४ हजार मेगावाट आवर विद्युत् निर्यात हुनेछ । प्रतियुनिट बिजुलीको मूल्य ६.४ सेन्ट हुनेछ । नेपालले ५ महीनामा ९.२१६ मिलियन डलर (करीब १ अर्ब २३ करोड रुपैयाँ) आम्दानी गर्नेछ । 

नेपालबाट बंगलादेश बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपाललाई पहिलोपल्ट तेस्रो मुलुकमा बिजुली निर्यातको बाटो खुल्नेछ । सन् २०२१ देखि नेपालले भारतमा प्रतिस्पर्धात्मक विधिबाट बिजुली निर्यात गर्दै आएको छ । यद्यपि, बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण भारत बंगलादेशसँग चिढिएको विश्लेषण हुन थालेको छ । बंगालदेशी सञ्चारमाध्यमहरूले भने त्यहाँको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने पहललाई स्वीकृति दिएको बताइरहेका छन् । उक्त परियोजना स्वीकृत भए पनि भारत सरकारले विद्युत् आयातमा लगाएको प्रसारण लाइन शुल्कप्रति बंगलादेशी सरकारी निकायले विरोध जनाएकाले पनि विद्युत् निर्यात अन्योलमा परेको बंगलादेशी सञ्चारमाध्यमले बताएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्