चाडपर्व नजिकिएसँगै वीरगञ्जमा बजार अनुगमन तीव्र, एकैदिन ७ ओटा व्यापारिक फर्मलाई जरिवाना



वीरगञ्ज,असोज ३ । चाडपर्व नजिकिएसँगै सीमावर्ती वीरगञ्ज बजारमा अनुगमन तीव्र पारिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साले बजारमा अनुगमन गरेको हो ।

कार्यालयका सूचना अधिकृत दिलिप खङ्ग खत्वेका अनुसार चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको हो । अनुगमनका क्रममा उपभोक्ता हितविपरीतको कार्य नगर्न व्यापारीहरूलाई सचेत पनि गराएको उनले बताए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पर्सासँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च पर्सालगायतका कार्यालय र संस्थाहरूका प्रतिनिधिको सहभागिता थियो । बुधवार किराना पसलहरूको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा उपभोक्ता हितसम्बन्धी कानून उल्लंघन गरेका ७ ओटा किराना पसललाई जरिवाना तिराइएको र ७ दिनभित्र जरिवाना तिरेको बैंक भौचर पेश गर्न निर्देशन दिइएको जानकारी पनि सूचना अधिकारी खङ्ग खत्वेले दिए । 

प्रतिक्रिया दिनुहोस्