आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन



ढोरपाटन (बागलुङ),असोज ३ । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रूपमा परिचित हुँदै गएको हो ।

तल्लो क्षेत्रदेखि उच्च पहाडसम्मका पर्यटकीय गन्तव्यमा नयाँ पुस्ताको ट्रेकिङ मोह पनि बढेको बढ्न थालेपछि बराहतालमा पूर्वाधार निर्माणमा जोड दिइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।  

पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । गाउँ तथा सहरका युवा पुस्ता घुमफिरमा रम्न थालेपछि बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन थालेको उनले बताए । 

एक दशक अगाडिसम्म सुनासन रहेका पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । वर्षौं अगाडिदेखि चर्चामा रहेका पर्यटकीय क्षेत्रसहित नयाँ गन्तव्यमा आन्तरिक पर्यटक पुग्न थालेका मगरले उल्लेख गरे । ढोरपाटन उपत्यका, गाईघाट झरना, बागलुङ कालिका, पञ्चकोट, गाजाको दहलगायत दर्जनौं पर्यटकस्थल वर्षौंदेखि चर्चामा रहेका भन्दै पछिल्लो पाँच वर्षमा बुकीपाटन, रिगताल, बराहताल, पातीहाल्ने, टेवाको मूर्तिकला चर्चामा आउन थालेका उनको भनाइ छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष बुढा मगरले बराहताल क्षेत्रको विकासका लागि हालसम्म रू‍ एक करोड बढी लगानी भइसकेको जानकारी दिए । यहाँ पूर्वाधार निर्माण हुनुपूर्व कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी ठाउँबाट आउनेको कमी थियो । पालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायत संरचना बनाएपछि यहाँ दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका उनले बताए ।

अध्यक्ष मगरले भने, ‘बराहताल आकर्षक छ, यहाँबाट उच्च पहाडी क्षेत्रसहित हिमशृङ्खला देख्न सकिने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हिउँदमा लालीगुराँसले राताम्य बन्ने बराहताल क्षेत्र रोमाञ्चक देखिन्छ, समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको यो क्षेत्रको पूर्वाधार विकास गर्न प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पनि गत वर्षदेखि बढी चर्चामा आएको छ । बुकी क्षेत्र ट्रेकिङ गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ । ढोरपाटन उपत्यकाबाट करीब चार घण्टाको पैदलयात्रामा पुग्न सकिने बुकीबाटन तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छ । 

बुकीपाटन चढ्ने याम साउनदेखि असोजसम्म भएका यस सिजनमा करीब दुई हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका स्थानीय श्याम पुन मगरले बताए । 

पहिले ढोरपाटन उपत्यका आएर फर्किने पर्यटक अहिले हिँडेरै बुकीपाटन आउने गरेका उनले जानकारी दिए । बुकीपाटनमा हजारौंको सङ्ख्यामा भेडाका बथान, गोठाला र मनमोहक उच्च पहाडसहित दर्जनौं हिमशृङ्खला अवलोकन गर्न सकिने पुनले उल्लेख गरे ।  

बुटवलबाट यहाँ आएका विवेक शर्माले बुकीपाटन मनोरम रहेको बताए । ढोरपाटनसम्म गाडीमा पुगेर चार घण्टा पैदल यात्रामार्फत यहाँ पुगेको उनले जानकारी दिए । 

ढोरपाटनबाट पैदलयात्रा गरेर बुकी पुग्दा वन्यजन्त, चराचुरुङ्गी, खोलानाला, गोठाला र प्रकृतिसँग रमाउन पाइने भन्दै ठाउँ–ठाउँमा बुकी क्षेत्रको नामसहित सूचनासहितको जानकारी राख्नु आवश्यक रहेको शर्माले बताए । बुकीपाटन पुग्न बाटोमा शौचालय र विश्रामस्थल निर्माण गर्नुपर्नेमा उनले जोड दिए । रासस 

प्रतिक्रिया दिनुहोस्