नवलपुरमा ठेकेदार कम्पनीको लापरबाहीले डेंगु बढ्यो



नवलपुर,असोज २ । नारायाणघाट–बुटवल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छोड्दा जमेको पानीका कारण डेंगु बढेको हो ।

नारायणघाट–बुटवल सडकखण्डले छोएका पालिकाहरूमा सबैभन्दा बढी डेंगु देखिएको छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकालाई यो सडकले छोएको छ । मङ्गलबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा ९९ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कअनुसार ४२ जना महिला र ५७ जना पुरुषमा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये सबैभन्दा धेरै देवचुली नगरपालिकामा २४ जना रहेका छन् । त्यस्तै, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा १९ जना, गैँडाकोटमा १८, हुप्सेकोट गाउँपालिकामा १३, मध्यविन्दु नगरपालिकामा १२, विनयी त्रिवेणीमा ११ र बुलिङटार गाउँपालिकामा दुई जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिए । बौदिकाली गाउँपालिकामा भने अहिलेसम्म डेंगु सङ्क्रमित फेला परेका छैनन् ।

सडकले छोएका पालिकामा बढी डेंगु देखिनुले सडक विस्तारको क्रममा ठेकेदार कम्पनीले समयमै काम नसक्नु र सडक खाल्डाखुल्डी पारेर छोडेकाले तीनै खाल्डाखुल्डीमा जमेको पानीका कारण डेंगु बढी देखिएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्