सरकारले अबको १० वर्षपछि वृद्धभत्ता दिनै सक्दैन : स्वास्थ्यमन्त्री



ललितपुर,असोज २ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए । उनले अहिले समाजको मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए । उनले भने, ‘‘अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ । खाद्य स्वास्थ्यको मुख्य विषय हो । तर त्यो स्वास्थ्यसँग जोड्न सकिरहेको छैन । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो ।’’

मन्त्री पौडेलले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए । उनले यस्तै रूपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको सङ्ख्या बढी हुने दाबी गरे । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए । मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए । उनले देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्