तनहुँमा महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा



तनहुँ,असोज १ । सामाजिक विकास कार्यालय तनहुँले दमौलीमा मङ्गलबारबाट महिलाको लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ। निजामती सेवामा महिलाको पहुँच पुर्‍याउन तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

तालिमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले निजामती क्षेत्रमा महिलाको उपस्थिति बढाउन यस्ता प्रकारका तालिमले टेवा पुग्ने बताए । निजामती सेवामा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने भएकोले चर्को प्रतिस्पर्धा हुने भएकोले तालिममा राम्रोसँग ज्ञान लिन सहभागीलाई नगर प्रमुख न्यौपानेले आग्रह गरे । आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन हुने महिला, बालबालिका तथा समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । 

महिलालाई निजामती सेवामा समान रूपमा पुर्‍याउने लक्ष्यका साथ ६० जनालाई तालिममा समावेश गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले बताए । २० दिने यस तालिमको लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । विभिन्न विषयमा गरी १२ जना प्रशिक्षकहरूलाई तालिममा प्रशिक्षक रूपमा आमन्त्रण गरिएको उनले जानकारी दिए । गत वर्ष ४० जना महिलालाई तालिम प्रदान गरिएको कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्