वन संरक्षण सबैको दायित्व हो : मुख्यमन्त्री लामा



मकवानपुर,असोज १ । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाउने क्रममा मङ्गलबार हेटौँडामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । 

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको व्यवस्थापनमा हेटौँडा उपमहानगरपालिका –९ स्थित बेतखोल्सी सामुदायिक वन समूहको क्षेत्रमा रहेको दिव्य बाल उद्यानमा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले वन र वातावरणको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उनले वनलाई उत्पादनसँग जोड्नु आवश्यक भएको बताउँदै बढ्दो वातावरणीय समस्या समाधानका लागि वनको संरक्षण आवश्यक भएको बताए ।

कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल र वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले वनको संरक्षणसँगै उपयोगको बारेमा बोलेका थिए । वृक्षरोपण कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीलगायत सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । 

वृक्षरोपण कार्यक्रममा समी, पलाँस, सीता, अशोकलगायत फूल प्रजातिका गरी सयवटा बिरुवा रोपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्