सहकारीको ८५ करोड गोरखा मिडिया नेटवर्कले अपचलन गरेको प्रतिवेदन, लामिछाने माथि छानबिन होला ?



काठमाडौं,असोज १ । सहकारी संस्थाहरूको बचत अपचलनबारे छानबिन गर्न गठित संसदिय समितिले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीहरूको ८५ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन बुझाएको छ । 

समितिका सभापति सूर्य थापाले सोमवार संघीय संसदमा प्रस्तुत गरेको प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए । 

समितिको प्रतिवेदनमा सहकारीको पैसा ल्याएर गोरखा मिडिया नेटवर्कमा दुरुपयोग भएको भेटिएपनि त्यसमा गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको सहभागिता रहेको उल्लेख गरेको छ । 

सहकारीको पैसा कम्पनीमा ल्याउनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष सहभागिता नभएपनि मिडियाको प्रबन्ध निर्देशकका रूपमा उनको दायित्व रहने भन्दै यसबारेमा थप छानबिन गर्न सरकारलाई निर्देशन गरिएको छ । 

राईले खोलेका विभिन्न सहकारीको रकम उनी आफै अध्यक्ष भएको गोरखा मिडिया नेटवर्कमा लगानी गर्दा लामिछानेको नाममा समेत ऋण झिकिएको पाइएको छ । लामिछाने तत्कालिन समयमा उक्त मिडियाको प्रबन्ध निर्देशक थिए । तर, समिति ऋणमा उनको प्रत्यक्ष सहभागिता पुष्टि हुने प्रमाण फेला नपरेको जनाएको छ । 

प्रतिवेदन पेश गर्दै समितिका सभापति थापाले भने सहकारीमा नक्कली कारोबार हुने गरेको बताए । ‘सहकारीमा नक्कलीको बिगबिगी रहेछ, कानुन र इमान विपरीतका काम भइरहेका छन्,’ उनले भने, ‘साधारणसभा, ऋणी, लेखापरीक्षण, अंशवण्डा विवाह सबै नक्कली हुने गरेको भेटिएको छ ।’

१५ जेठमा गठन भएको संसदीय विशेष समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । तीन महीना अवधि पाएको समितिले तोकिएको समयमा काम नसकिएपछि थप १५ दिन समय पाएको थियो । तोकिएको समयसीमा भित्र समितिले काम पूरा गर्दै समितिमा पेश गरेको हो । 

समितिले ५६ ओटा बैठक गरी ४५१ जना व्यक्तिसँग छलफल र सुझाव लिएको तथा ४७ जना सञ्चालकसहित ५५ जनासँग सोधपुछ गरेको सभापति थापाले जानकारी दिए । 

सहकारीलाई अर्थतन्त्रको खम्बाको रूपमा संविधानमा स्वीकार गरेपनि सहकारीको खम्बा कमजोर रहेको थापाले बताए । सहकारीमा सर्वसाधारणको विश्वास गुम्दै गएकाले यसलाई फर्काउनका लागि सबै सरोकारवाला मिलेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्