कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित



गण्डकी,भदौ ३१ । कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेङ्गीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए ।

जनघनत्व बढी भएका ठाउँमा सङ्क्रमण छिटो फैलने हुँदा पोखरा डेङ्गीको ‘हट स्पट’ बनिरहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयले डेङ्गीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका सङ्क्रमितसमेत रहेको जनाएको छ ।

सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्