जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङ,भदौ ३१। बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीवारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।
शुक्रवार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका छन् । पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताइन् ।
सहायक प्रजिअ जोशीका अनुसार शनिवार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुईओटा जेसीबी पहिरो गएका स्थान नजिक राखिएका छन् । ‘माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिवार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौं,’ उनले भनिन् ।
शुक्रवार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रु परिङाल नजिकै पर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए । गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । रासस