वडाअध्यक्षसहित ३ जनालाई सरकारी कोषको हानीनोक्सानीसम्बन्धी मुद्दामा सजाय
काठमाडौं,भदौ ३१। विशेष अदालतले सरकारी कोषको हानीनोक्सानी मुद्दामा वडाअध्यक्षसहित ३ जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ ।
अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्य रितेन्द्र थापाको इजलासले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तुलाराम लुइँटेलसहित २ जनालाई सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोगको कसुरमा कैद र जरिवानाको फैसला सुनाएको हो ।
‘…प्रतिवादी तुलाराम लुइँटेल वडाअध्यक्षको पदमा रही सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न उमेरको योग्यता नै नपुगेको तुलसीदेवी वराल र भक्त कुमारी लुइँटेलको नागरिकता प्रतिलिपि लिने/दिलाउने क्रममा गलत मिति राखी सिफारिस गरेको, निजहरूको नाम सो भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा प्रविष्ट गराई भत्ता दिलाई बदनियतपूर्वक सरकारी कोषको हानीनोक्सानी गराएको देखिन्छ,’ फैसलामा भनिएको छ ।
अदालतले प्रतिवादी लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजित गलत लिख तयार गरे÷गराएको र दफा १७ को उपदफा १ बमोजिमको हानी नोक्सानीको कसुर गरेको देखिन आएकाले दफा ९ को कसुरमा सोही दफा बमोजिम ३ महीना कैद र १० हजार रुपैयाँ जरिवाना हुने र दफा १७ को कसुरमा सोही दफामा उल्लेख भएअनुरुप जम्मा बिगो १ लाख ६० हजार रुपैयाँ कायम गरी दफा ३ को उपदफा १ को खण्ड (घ) बमोजिम ६ महीना कैद र उपदफा १ बमोजिम बिगो बमोजिम १ लाख ६० हजार रुपैयाँ जरिवाना हुने फैसलामा उल्लेख छ । बिगोको रकम दाखिला भइसकेकोले असुल गर्नुनपर्ने फैसलामा उल्लेख गरिएको छ ।
यस्तै, अदालले मेगदीप पोखरेल र तारादेवी पोखरेललाई वडाअध्यक्ष लुइँटेलको मतियारको भूमिका खेलेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ९ बमोजिम जनही ३ महीना कैद र १० हजार रुपैयाँ जरिवाना तथा दफा १७ को कसुरमा दफा ३ को उपदफा १ को खण्ड (घ) बमोजिम जनही ६ महीना कैद र उपदफा १ बमोजिम १ लाख ४४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । निज दुई जनाले बिगो रकम दाखिला गरेकाले असुलउपर गर्न नपर्ने देखिएको फैसलामा उल्लेख छ ।
उक्त मुद्दामा ४ जनाले भने सफाइ पाएका छन्, जसमा सुनिल पौडेल, रमेश कोइराला, कल्पना बास्कोटा र भक्तकुमारी लुइँटेल छन् ।