भारतले खानेतेल आयातमा शुल्क बढाउँदा नेपाली उद्योगलाई फाइदा कि बेफाइदा?
वीरगञ्ज,भदौ ३०। भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेलको आयातमा शुल्क बढाएसँगै नेपालबाट भारतमा प्रशोधित खानेतेलको निर्यात सहज हुने उद्यमीहरूले बताएका छन् । भारतले शुक्रबारदेखि लागू हुने गरी तेलको आयातमा सीमा शुल्क बढाएको हो ।
भारतले अर्धप्रशोधित पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा सीमा शुल्क ५ दशमलव ५ प्रतिशतबाट २७ दशमलव ५ प्रतिशत र प्रशोधित तेलमा १३ दशमलव ७५ प्रतिशतलाई ३५ दशमलव ७५ प्रतिशत बनाएको हो ।
स्वदेशी उद्योगले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधित तेल भारत निकासी गर्दछन् । यी उद्योगले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को शून्य भन्सार सहुलियतमा निकासी गर्दै आएका छन् ।
भारतले आयातमा शुल्क घटाएपछि नेपालबाट निर्यात हुन नसकेकोमा शुल्क बढाएपछि अब निकासी सहज हुने वीरगञ्जको तेल उत्पादक कम्पनी ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । स्वदेशी उद्योगीले युक्रेन, इन्डोनेसिया र मलेसियाबाट अर्धप्रशोधित सूर्यमुखी, भटमास, पाम आयल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए ।
स्वदेशका उद्योगले अर्धप्रशोधित तेलको आयातमा १० प्रतिशत भन्सार महशुल र मूल्यअभिवृद्धि कर तिर्छन् । भारत निकासी गरेपछि भन्सारमा तिरेको सबै रकम फिर्ता पाउने र भारतमा ५ प्रतिशत बस्तु तथा सेवा करमात्रै तिरेर निकासी गर्न पाउने भएपछि निर्यात सम्भव भएको अन्नपूर्ण भेजिटेबल प्रडक्ट्सका सञ्चालक प्रभुदयाल अग्रवालको भनाइ छ ।
विगत २ वर्षयता निकासी खस्किएपछि यस्ता उद्योगमा भएको १५ अर्ब रुपैयाँबराबरको लगानी संकटमा परेकोमा अहिलेको भारतीय नीतिले यो संकट तत्कालका लागि टर्ने सम्भावना देखिएको वीरगञ्जको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानको भनाइ छ । यसअघि भारततर्फको निकासी ठप्प भएर उद्योग बन्द हुने अवस्था आएपछि स्वदेशी उद्योगलाई सरकारले भन्सार महशुलमा ९० प्रतिशत छूट दिएकोमा गतवर्ष त्यो सहुलियत हटाइदिएपछि उद्योग थप संकटमा परेका थिए ।