आईजीपीको जिब्रो थुत्नुपर्ने अभियव्यक्ति दिने मन्त्री गुरुङले भने, ‘मानवता नै धर्म हो’



काठमाडौँ,भदौ २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म रहेको भन्दै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मन्त्री गुरुङले मानव सेवाबाट नै सही आशीर्वाद पाउने भएकाले यसमा लागेर पुण्य आर्जन गर्न सकिने बताए ।

२०८२ सालभित्र देशलाई सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने सङ्कल्प साकार पार्ने सरकारको लक्ष्य हासिल गर्ने अभियानमा मानवसेवा आश्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कोही पनि नागरिक बेसहारा भएर बस्न नपरोस् भन्ने सरकारको चाहना रहेको बताए । उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै सो प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेको बताए ।

यसै वर्षभित्र लमजुङमा निर्माणाधीन आश्रमको भवन सम्पन्न गरी अन्य क्षेत्रमा जस्तै लमजुङ पनि मानव सेवामा अग्रणि रहेको पुष्टि गर्न सबैसँग मन्त्री गुरुङले आग्रह गरे । कार्यक्रममा उपस्थित विभिन्न संस्था र व्यक्तित्वहरुले भवन निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाएका थिए ।

मन्त्री गुरुङले केही दिनअघि पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भएको थियो। केही दिनअघि आईजीपीको जिब्रो थुत्ने कुरा गरेका मन्त्रीले आज भने मानवताको पाठ पढाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्