वीर अस्पतालमा जलन कक्ष पुनः सञ्चालन



काठमाडौ,भदौ २९ । बन्द भएको नौ वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालनमा आएको छ । 

जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा २०७२ सालको भूकम्पपछि ‘जलन उपचार कक्ष’ नै बन्द भएको थियो । शुक्रबारबाट सञ्चालनमा आएको सो कक्षमा कुल १५ वटा बेड छन् । १५ मध्ये १० जनरल र पाँच बेड आइसियुमा छन् । यस्तै तीन शल्यक्रिया कक्ष छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरे ।  

मन्त्री पौडेलले जलनका गम्भीर घाइते बिरामीको उपचारमा एक लाख रुपियाँ दिने तयारीमा सरकार लागेको जानकारी दिए । उनले सरकारले कडा रोगका बिरामीका लागि उपचारमा एक लाख रुपियाँ सहुलियत दिने गरेको जानकारी दिँदै त्यसमा जलनका बिरामी पनि समेटिने बताए । उनले जलनका घाइतेलाई एक लाख रुपियाँ दिने प्रस्ताव अघि बढाइएको जानकारी दिए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताल नहुने वर्गको अस्पतालका रूपमा रहेकाले सहुलियत दरमा जलन वार्डमा उपचार गराइने बताए । कार्यक्रममा अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालले सुविधासम्पन्न सेवा दिने भन्दै जलेका बिरामीलाई अब अन्यत्र रिफर गर्नुनपर्ने बताए । सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरेको थियो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका शिक्षाध्यक्ष डा. लोचन कार्कीले वीरमा जलन भएका बिरामीको जटिल उपचार हुने भएपछि निजी क्षेत्रमा महँगो उपचार गराइराख्नुनपर्ने बताए । नेपालमै जलनको उपचार सुरुवात गर्ने वरिष्ठ प्लास्टिक सर्जन डा. केशवदास जोशीले २०४३ देखि वीर अस्पतालबाट जलन उपचार सुरु गरेका थिए । उनको नामबाट अस्पतालले जलन उपचार केन्द्रको नामकरण गरेको हो । हाल नेपालमा त्रिवि शिक्षण अस्पतालमा नौ वटा बेड जलनका बिरामीका लागि छुट्याइएको छ भने प्राइभेटमा कीर्तिपुर बर्न अस्पतालमा मात्र जलनको उपचार हुने गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्