मुग्लिङ–पोखरा सडक निर्माणमा ढिलाइ
लेखनाथ,भदौ २८ । सरकारले यस वर्षबाट भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । पोखरा कोणमा साहसिक मनोविनोद, पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षाको केन्द्र बनाउने योजना छ । यो कोणलाई चलायमान बनाउने पोखरा–मुग्लिङ सडक स्तरोन्नति सक्न भने अझै कम्तीमा डेढ वर्ष लाग्ने देखिएको छ ।
पूर्वी र पश्चिमी गरी दुई खण्डमा यो सडक स्तरोन्नति भइरहेको छ । पूर्वी खण्डको म्याद आगामी सोमबारसम्म छ भने पश्चिमी खण्डको म्याद यही भदौमा १०१ दिन थपिएको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा त्रिभुज परियोजना त प्रभावित बन्ने छ नै, पोखरा आउने यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
पर्यटन राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँ र देशको पूर्वी क्षेत्रसँग जोड्ने यो सडकको काम ढिलो हुँदा सर्वसाधारणले बारम्बार गुनासो गर्दै आएका छन् । केही दिनअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरोकारवालासँग छलफल गर्नुभएको थियो । छलफलमा पश्चिमी खण्डका निर्माण कम्पनीका प्रतिनिधिले आयोजनाको काम सक्न अझै डेढ वर्ष लाग्ने खाका प्रस्तुत गरेका थिए ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनका इन्जिनियर अनुप श्रेष्ठ सन् २०२५ भित्र आयोजनाका काम सबै सक्ने उल्लेख गर्छन । यो खण्ड सात अर्ब ४० करोड ४६ लाखमा यनहुईले ठेक्का पाएको हो । अहिले पनि पूर्वाधारका काम भइरहेका छन् । श्रेष्ठले भने, “बर्खामा पनि पूर्वाधारका काम गरिरहेका छौँ, असोजबाट कालोपत्रे सुरु हुन्छ । बिजुलीका पोल अझै सारिसकिएको छैन, खानेपानीको ठेक्का बल्ल लागेको छ, राजमार्ग मान्छेको पिँढीसम्मै पुग्ने भएकाले अनेक उल्झन आइरहन्छन् ।”
आयोजनाका इन्जिनियर नारायण पौडेल पश्चिम खण्डको प्रगति करिब ३० प्रतिशत पुगेको बताउछन् । ठेक्का लाग्दासम्म कोभिडको त्रास कायम भएकाले काम छ महिनापछि सुरु भएको थियो । उनी भन्छन, “सुरुवातमा कोभिडका कारण पूर्ण मोबिलाइजेसन भएन । बेलैमा साइड क्लियर गर्न पनि सकिएन । गत वर्षको गति कायम रहे अबको डेढ वर्षमा काम सक्न सम्भव छ ।”
पश्चिमी खण्डमा हटाउनुपर्ने बिजुलीका पोलमध्ये आधा जति स्थानान्तरण भइसकेको छ । एक सय हाराहारी घर, टहराको मुआब्जा दिन बाँकी छ । इन्जिनियर पौडेल साइट क्लियरेन्स नहुँदा कामै रोकिने अवस्था नरहेको दाबी गर्दै सडक निर्माण र साइट व्यवस्थापन सँगसँगै भइरहेको उल्लेख गर्छन । यो खण्डमा खानेपानीका २७ उपभोक्ता समिति छन् । ती समितिसँग समन्वय गरी काम भइरहेको पौडेलले खुलाए ।
आयोजनाले पहिलो चरणमा साढे पाँच सय जति घर, टहराको मुआब्जा वितरण गरिसकेको छ । पश्चिमी खण्डमा चार मुख्य पुल र आठ माइनर पुल छन् । ठुलामध्ये तीन पुलको काम धमाधम भइरहेको छ भने एउटा पुल सुरु नै भएको छैन । पोखरा महानगरको विजयपुर खोलाको पुल निर्माण अझै सुरु भएको छैन । यो खण्डमा एक सय हाराहारीमा कलभर्ट बन्दै छन् ।
आयोजनाको पूर्वी खण्डको भौतिक प्रगति ६७ प्रतिशत छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डे पछिल्लो समय कामको गति सन्तोषजनक भए पनि आरम्भमा सात/आठ महिना काम नहुँदा आयोजना पछाडि धकेलिएको बताउछन् । यो खण्डका तीन ठुला पुल र १८ माइनर पुल निर्माण सकिइसकेको छ । छुट्टै ठेक्का लगाइएको मादी नदीको सिक्नेचर पुलको प्रगति ३७ प्रतिशत छ । इन्जिनियर पाण्डे भन्छन, “काम थालेपछि एक वर्षमा ३० प्रतिशत हाराहारी काम भएको छ, यो आर्थिक वर्षभित्रै सबै काम सक्ने निर्माण कम्पनीको प्रतिबद्धता छ ।”गोरखापत्रबाट