तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माण कार्य शुरू, दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं,भदौ २८ । रिडी पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी मार्फत २२ दशमलव ५ मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माणकार्य शुरू भएको छ । रिडी पावरको शतप्रतिशत स्वामित्वमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा अवस्थित बलेफी नदीमा २२ दशमलव ५ मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको निर्माण कार्य शुरू गरेको हो ।
२०८१ साउनबाट निर्माण शुरू गरिएको यो आयोजना आगामी दुई वर्ष भित्र सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । यस आयोजनाबाट उत्पादित विद्युत खरिदका लागि नेपाल विद्युत प्राधिकरणसँग २०७५ साल माघमा सम्झौता भैसकेको छ । कम्पनीका अनुसार यस आयोजनाको कुल निर्माण अनुमानित लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कुल लागत मध्ये ६७ दशमलव २३ प्रतिशतले हुने २ अर्ब ९६ करोड रुपैयाँ बैकको कर्जा लगानी रहेको छ भने १ अर्ब ४४ करोड रुपैयाँ कम्पनीको स्वपूँजी लगानी हुनेछ ।
कुल स्वपूँजी लगानी मध्येबाट रिडी पावर लिमिटेडले ५५ प्रतिशत अर्थात् ७८ करोड रुपैयाँ लगानी गर्ने छ भने अन्य रणनीतिक साझेदार कम्पनीबाट २५ प्रतिशत अर्थात् ३७ करोड रुपैयाँ लगानी गर्ने छन् । बाँकी रकम साझा पावर कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी संकलन गर्ने योजना बनाएको जानकारी कम्पनीले दिएको छ ।
यस आयोजनामा लगानी गर्नको लागि रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरी ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ संकलन गरि सकेको अवस्था छ । कम्पनीले यस आयोजनामा लगानी गर्नको लागि हकप्रद निष्कासन गरेर रकम जुटाइसकेकाले अब रिडी पावरका लगानीकर्ताले थप रकम हाल्नु नपर्ने रिडी पावरका अध्यक्ष कुवेरमणि नेपालले जानकारी दिए । उनका अनुसार रिडी पावरका शेयर लगानीकर्ताले थप रकम लगानी नगरी २२ दशमलव ५ मेगावाटको बलेफी आयोजनाले दिने लाभ पाउन सक्नेछन् ।
अध्यक्ष नेपालका अनुसार तल्लो बलेफी जलविद्युत आयोजनाबाट वार्षिक १०५ गिगावाट घण्टा विद्युत शक्ति उत्पादन हुनेछ । सो विद्युत बिक्रीबाट कम्पनीलाई पहिलो वर्षमा ६२ करोड ३० लाख रुपैयाँ आम्दानी हुनेछ । बैंकबाट लिएको परियोजना ऋण कर्जा १२ वर्ष भित्र चुक्ता भुक्तानी गर्ने योजना रहेको अध्यक्ष नेपालले जानकारी दिएका छन् । यस आयोजनाको व्यवसायिक उत्पादन शुरु गरेको पहिलो वर्ष देखि नै घरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने सम्भावनालाई पनि अध्यक्ष नेपालले औँल्याएका छन् । उनी भन्छन् ‘यो आयोजना अबको दुई वर्ष भित्र निर्माण सम्पन्न भई शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्ने देखिन्छ । यी सबै आयोजनाहरूलाई एकत्र गरेर हेर्दा रिडी पावर कम्पनी लिमिटेडको मातहतमा जम्मा ३५ दशमलव ३ मेगावाटका जलविद्युत र ८ दशमलव ५ मेगावाटको सोलार आयोजना समेत गर्दा जम्मा ४३ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको कम्पनी बनेको छ ।’
रिडी पावर कम्पनी अरुण भ्याली हाइड्रोपावर समूह अन्तर्गतको कम्पनी हो । हाल रिडी पावर कम्पनीले रिडी खोला साना जलविद्युत आयोजना (२.४ मे.वा.), रैराङ खोला साना जलविद्युत परियोजना (०.५०० मेगावाट), बुटवल सौर्य परियोजना (८.५ मे.वा.), इवा खोला परियोजना (९.९ मे.वा.) आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।
अरुण भ्याली हाइड्रोपावर समूह अन्तर्गत अरुण भ्याली हाइड्रोपावर कम्पनी, रिडी पावर कम्पनी, अरुण काबेली पावर लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र ईङ्वा हाइड्रोपावर कम्पनी गरी पाँच ओटा कम्पनीहरू धितोपत्र दोस्रो वजारमा सूचिकृत रहेका छन् । कम्पनीले विद्युतको अलावा कृषि क्षेत्रमा पनि लगानी गरेको छ । कम्पनीको लगानीमा एग्रोभिजन फार्मिङ एण्ड रिसर्च कम्पनी लिमिटेड” नामको सहायक कम्पनी स्थापना भएको छ । उक्त कम्पनीको अगुवाईमा विभिन्न जलविद्युत आयोजनाहरूमा रहेको खाली जमिनमा विभिन्न जातका फलफूल विरुवाहरूको प्रवद्धन गर्ने तथा बुटवल सौर्य बिद्युत आयोजना क्षेत्रमा बाख्रा पालन कार्य समेत भइरहेको छ ।