दशैँका लागि अग्रिम टिकट बुकिङ : यस्तो छ तयारी ?



काठमाडौं,भदौ २७ । नेपालीहरूको महान पर्व दशैँ आउन अब एक महिना पनि बाँकी छैन । आगामी असोज २६ गते यस वर्षको दशैँको मुख्य दिन अर्थात् टिका रहेको छ । घटस्थापनादेखि नै दशैँको प्रारम्भ हुन्छ । आगामी असोज १७ गतेबाट यस वर्षको दशैँ सुरू हुन्छ ।

दशैँमा हजारौं मानिसले उपत्यका छाड्छन् । दशैँमा छुट्टी मिलेसम्म परदेशमा रहेकाहरू समेत घरदेश फर्किछन् । त्यसैगरी कर्मथलो हुनेहरू पनि जन्मथलो फर्किछन् । त्यसो हुँदा यातायात सहजीकरणका लागि सरकारले वर्षेनी अग्रिम टिकट बुकिङ खुला गर्ने गरेको छ ।

सरकारले दशैँ आउनुभन्दा करीब एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरेको थियो । तर यस वर्ष दशैँ नजिकिंदै गर्दा लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने तयारी देखिएको छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर अग्रिम टिकट बुकिङका बारेमा यातायात व्यवस्था विभागसँग छलफल नै हुन बाँकी रहेको बताउँछन् । आगामी असोज पहिलो साता यस विषयमा छलफल हुने सम्भावना रहेको उनले बताए । यसो हुँदा असोज दोस्रो साताबाट मात्र अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना देखिन्छ ।

सडकको अवस्था पनि जोखिम रहेकोले सरकारले अग्रिम टिकट बुकिङ खुलाउनुपूर्व सडक सुरक्षाको बारेमा गम्भीर हुनुपर्ने उनले बताए। ‘मनसुन तत्काल बाहिरिसक्ने अवस्था देखिन्न । बाढी पहिरोको जोखिम छ । विगतका कमजोरीलाई पनि समीक्षा गर्नुपर्ने अवस्था छ । बाटोहरू खराब छन् । यो सबै कुराको जिम्मा हामीले लिन सक्ने कुरा हुन्न । यसमा सरकारले ध्यान दिनुपर्छ’ उनले भने ।

चाडपर्वको समयमा यात्रु चाप हुने गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ । यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्‍याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्ने स्वाँरले बताए ।

गत वर्ष पनि सडकको दुरावस्थाका कारण एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका अधिकारीबीच छलफल भएपछि अग्रिम टिकट बुकिङ टुंगो लाग्छ । अग्रिम टिकट बुकिङ लागि छिट्टै छलफल गरी निष्कर्ष निकाले यातायात व्यवस्था विभागले जनाएको छ ।

महासंघले यात्रुहरूको सहजताका लागि डिजिटल माध्यमबाट टिकट काट्न सकिने व्यवस्थालाई थप परिस्कृत गर्ने भएको छ । ‘पूर्ण रूपमा डिजिटलाइजेसनमा जान अझै समय लाग्ला तर हामी डिजिटल टिकेटिङ्गलाई परिस्कृत गर्दै लैजाउनेछौं । यसको लागि लोत्से मलका अध्यक्षसँग छलफल भइसकेको छ’ स्वाँरले भने । महासंघले राजधानी बाहिर जाने यात्रुका लागि प्रयाप्त सवारी साधन भएकाले कुनै समस्या नहुने जनाएको छ।

मौसमको चिन्ता

नेपालमा अझै पनि मनसुन जारी छ । ठाउँठाउँमा अझै पनि भारी वर्षा र बाहिर पहिरोको जोखिम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिने गरेको छ । यो भनेको असोज दोस्रो साता हो । अझै केही समय नेपालमा बाढी पहिरोको जोखिम कायम नै रहने महाशाखाले जनाएको छ ।

यद्यपि महासंघले ३ दिनको मात्र बुलेटिन प्रकाशन गर्दै आइरहेको छ। मनसुन कहिलेसम्म रहन्छ भन्नेबारे अहिले नै भन्न नसकिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्