उद्योग मन्त्री भण्डारीसंग चिनिया व्यवसायीहरूको भेट



काठ्माण्डौँ,भदौ २७  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरूले भेट गरेकाछन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरण, औद्योगिक क्षेत्रमा लगानी गर्न नितिगत व्यवस्थाका बिषयमा जानकारी लिएका छन् । 

चिनिया व्यवसायीहरूलाई  भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गरेका थिए । उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नितिगत जटिलताहरू नरहेको तथा नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सुचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । 

काभ्रेको पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी भैरहेको तथा लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको भण्डारीले बताएका थिए । उद्योग मन्त्रालयका सचीव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरू नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा कम्पनी दर्ता गर्दा निशुल्क रुपमा अनलाईन बाटै दर्ता प्रक्रिया रहेको बताए ।

यद्यपी रावतले भने जस्तै नेपालमा अनलाईन कम्पनी दर्ताको व्यवस्था भएतापनि पछिल्लो केहिदिन देखि अनलाईन दर्ता बन्द भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले जडान गरेको नयाँ सफ्टवेयरको प्रयोग तत्कालका लागि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्