दशैंअघि भन्सार छूटको चिनी आउने सम्भावना न्यून



काठमाडौं,भदौ २७ । चाडपर्वलक्षित भन्सार सहुलियतको ३० हजार मेट्रिक टन चिनी दशैंअघि नै आयात नहुने सम्भावना बढेको छ । ५० प्रतिशत भन्सार छूटको चिनी आयातका लागि दुई सरकारी स्वामित्वका कम्पनीहरूले ढिलो गरी अनुमति पाएका कारण दशैंअघि चिनी आयात नहुने सम्भावना बढेको हो ।

चाडपर्वमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छूटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ । गत सोमवारको मन्त्रिपरिषद् बैठकले ती दुई संस्थालाई भन्सार छूटमा चिनी आयात गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेर अनुमतिपत्र प्राप्त गर्नासाथ दुवै कम्पनीले जतिसक्दो चाँडो चिनी आयात गर्न बिहीवार (आज) टेन्डरका लागि सूचना निकाल्ने तयारी गरेका छन् । दशैंअघि नै चिनी आयात गर्न १२ दिनको सूचना जारी गर्ने तयारी गरेको साल्ट ट्रेडिङका सहमहाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘दशैंअघि नै ल्याउने प्रयास हो । तर, दशैं शुरू हुन अब करीब ३ हप्ता मात्रै बाँकी भएकाले निश्चित हुन सक्ने अवस्था छैन,’ उनले भने ।

उनका अनुसार यतिबेला अन्तरराष्ट्रिय बजारमा चिनीको मूल्य घटबढ भइरहेको छ । गतवर्ष यो समयमा चिनीको अन्तरराष्ट्रिय मूल्य प्रतिमेट्रिक टन ८५० अमेरिकी डलरभन्दा धेरै थियो । अहिले प्रतिमेट्रिक टन ५५० डलर छ । अन्तरराष्ट्रिय बजारमा चिनीको मूल्य ५०० अमेरिकी डलरको वरिपरि पुगे चिनी आउने सम्भावना छ । तर, मूल्य घट्ने सम्भावना न्यून रहेका कारण चिनी ल्याउन सकिने/नसकिने निश्चित नभएको राजभण्डारीले बताए ।

अर्कोतर्फ अहिले आन्तरिक बजारमा चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँभन्दा माथि छ । साल्ट ट्रेडिङले अहिले प्रतिकिलो १०७ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । ‘हामीले आयात गर्दा अहिले विक्री गरिरहेको मूल्यमै बेच्न सक्ने गरी आयात गर्न सक्ने अवस्था भयो भने ल्याउँछौं । तर, यस्तो हुन सक्ने सम्भावनाचाहिँ न्यून छ,’ राजभण्डारीले आर्थिक अभियानसँग भने ।

गतवर्ष पनि सरकारले भन्सार सहुलियतको चिनी आयातका लागि ढिलो गरी अनुमति दिँदा सरकारी कम्पनीहरूले चाडपर्वमा चिनी नै ल्याउन सकेनन् । सोही कारण त्यसबेला चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँभन्दा माथि पुगेको थियो । 

गतवर्षको जस्तै यस वर्ष पनि चाडपर्वको समयमा उपभोक्ताले महँगो मूल्यमा चिनी किन्न नपरोस् भनेर बेलैमा व्यवस्थापन गर्न खोजे पनि सरकारले स्वीकृति दिन ढिलाइ गरेपछि समस्या भइरहेको राजभण्डारीले यसअघि आर्थिक अभियानलाई बताएका थिए । अहिले भारतले चिनी निर्यातमा रोक लगाएको अवस्था छ । नेपालले गतवर्ष पाएको कोटामध्येको चिनी आयात गर्न लागिएको हो ।

भारतले लामो समयदेखि चिनीको निर्यात रोके पनि गतवर्ष नेपालमा २५ हजार मेट्रिक टन निर्यात गर्ने कोटा दिएको थियो । उक्त कोटाको सम्पूर्ण चिनी नेपालले गतवर्ष आयात गर्न सकेन । त्यसबाट बाँकी रहेको १९ हजार मेट्रिक टन चिनी आयातका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि १० ओटा निजी कम्पनीलाई जिम्मा दिएको थियो । औद्योगिक प्रयोजनका लागि चिनी आयात गर्ने कोटा पाएका ती कम्पनीले महँगो पर्ने भन्दै ल्याउन मानेनन् ।

ती कम्पनीले ल्याउन नसकेपछि पुन: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत घरायसी प्रयोजनका लागि आयात गर्न भन्दै सातओटा निजी व्यापारिक कम्पनीलाई जिम्मा दिइयो । तिनले पनि चिनी ल्याउन नसकेपछि अहिले उक्त कोटाको चिनी आयात गर्न यी दुई सरकारी स्वामित्वका संस्थालाई भनिएको हो ।

विभागका एक अधिकारी आयात अनुमति पाएको ७ दिनभित्र भारतीय कम्पनी एनसेल (चिनी दिने कम्पनी) सँग सम्झौता गरिसक्नुपर्नेमा कुनै पनि नेपाली निजी कम्पनी आयातका लागि तयार भएनन् । 

खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी निकायसँग चिनी नभएको र आयात गर्न सरकार असफल रहेकाले ठूला व्यापारीको मिलेमतोमा अहिले मूल्य बढाउने खेल शुरू भइसकेको बताए । उनका अनुसार अहिले चिनीको बजार मूल्य १२० रुपैयाँ वरिपरि छ । भन्सार छूटको चिनी नआउने हो र सरकारी स्वामित्वका कम्पनीसँग चिनी नहुने हो भने चाडपर्वमा कालोबजारी बढेर चिनी बेच्न सकिने अवस्था नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्