सुवासकाे नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौ,भदौ २६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।
बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले सुवासचन्द्र नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताएका हुन् ।
उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे । प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकाङ्क्षा र प्रवृत्ति अनुरूप चल्नुपर्ने बताए ।
नेताहरूका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताए । पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको बताए । उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताए ।