भैँसीपालनबाट करोडौँ आम्दानी
स्याङ्जा,भदौ २५ । स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीमा जानेको लहर निकै बढेको छ । यहाँका एक कृषकले भने बाँझो जमिनको सदुपयोग गर्दै भैँसी र गाई व्यावसाय सञ्चालन गरेर मनग्य आम्दानी गरेका छन् ।
फेदीखोला गाउँपालिका–१, मट्टीखानका कृषक विष्णुप्रसाद पोखरेलले स्वदेशमै भैँसीपालन व्यवसायबाट आम्दानी गर्दै आएका छन् । उनले २६ रोपनी आफ्नो, ५० रोपनी बन्दकी र ५० रोपनी भाडामा लिई भैँसी तथा गाईपालन गरेका छन् । फेदीखोला बजारमा किराना पसल गर्नुभएका पोखरेलले गाउँको जग्गा बाझैँ भएपछि व्यवसाय छाडेर चार वर्ष पहिलाबाट भैँसी तथा गाईपालन थालेका हुन । १० वटा मुर्रा भैँसी किनेर र एक गोठ बनाएर ४० लाख रुपियाँ लगानी गरी पशुपालन थालेको पोखरेलले बताए ।
२०७७ सालमा जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म दर्ता गरी व्यवसाय सुरु गरेका पोखरेलले अहिले व्यवसाय ठुलो भएसँगै प्रालिमा लगेका छन् । उनको फार्ममा अहिले १३० उन्नत जातका माउ भैँसी छन् भने पाडापाडी ५० छन् । माउ गाई ३० र ४० बाच्छाबाच्छी छन् । हरियाना मुर्रा १५ वटा र ११५ गुजराती मुर्रा तथा होलेस्टन र मिनी जर्सी गाई फार्ममा रहेको उल्लेख गर्दै पोखरेलले पाडापाडी र बाच्छाबाच्छी भने सबै जातका रहेको बताए ।
फार्ममा रहेका ४० भैँसी र १५ गाई दुहुना छन् । उहाँले दैनिक छ सय लिटर दुध बिक्री हुने र यसबाट दैनिक ८० हजार कमाउने बताए । सरदर वर्षमा तीन करोडको दुध र गोबर मलबाट कमाइने उहाँले जानकारी दिए । कमाइको आधा व्यवसायमै लगानी गर्ने र आधा बचत हुने गरेको जानकारी दिए । उनका अनुसार व्यवसायमा अहिलेसम्म सात करोड बराबरको लगानी पुगेको छ । वार्षिक लगानी थप्दै जिल्लाको ठुलो कृषि फार्म बनाउने लक्ष्य रहेको उनले बताए । उत्पादित दुध फेदीखोलाको कुभिण्डे, सर्केटारीसहितका बजार, पुतलीबजारको नागडाँडा र आँधीखोलाको सेतीदोभान हुँदै पोखरासम्म गाडीमा राखेर भैँसीको १४० र गाईको ११० रुपियाँ लिटरमा आफैँ बेच्ने गरेको उनी बताउछन् । पोखरेलले भने, “डेरीमा दुध बिक्री गर्दा बेलामा पैसा नआउने भएकाले स्थानीय बजारमा आफैँले दुध बेच्ने गरेको हुँ । स्थानीय बजारमा दुध बेच्दा नगद आउने र दैनिक हुने खर्चको कुनै समस्या हुँदैन ।”
पोखरेलले १५ जनालाई रोजगारीसमेत दिएका छन् । उनको फार्ममा काम गर्ने प्रायः विदेशबाट फर्केका छन् । उनीहरूले खाना र बस्न छाडेर कम्तिमा २० देखि २८ हजारसम्म तलब पाउने गरेका छन् । पोखरेल यहीँ राम्रोसँग व्यवसाय गरे सफल भइने एक उदाहरण हुन । आफूले अहिलेसम्म कुनै अनुदान नलिएको पोखरेलले बताए । भैँसीका लागि नेपियर, सुपर नेपियर, खरलगायतका घाँस लगाएर खुवाएका छन् ।