विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्यअभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने



काठमाडौं,भदौ २५ । आन्तरिक राजस्व विभागले उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत कर फिर्ता हुने जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै विभिन्न ५ प्रकारका सर्त सहित यस्तो सुविधा दिइने बताएको हो । यस्तो सुविधा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा पाइने विभागले जारी गरेको  सूचनामा उल्लेख छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा “कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरि निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ” भन्ने व्यवस्था छ । 

विभागले सोही व्यवस्था बमोजिम भदौ २१ गते त्यस्तो सेवा खरिदमा उपभोक्तालाई प्रचलित कानून बमोजिम  नगद प्रोत्साहन स्वरुप रकम फिर्ता दिने निर्णय  गरेको थियो ।

विभागले उक्त व्यवस्था कार्यान्वयनमा सहभागी हुनका लागि आम उपभोक्ता, व्यवसायी तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

विभागका अनुसार मदिरा पिउने केन्द्र (वार) बाट प्रदान गरिने सेवा, चमेनागृह (Restaurant) बाट प्रदान हुने सेवा, सवै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवा र शर्तहरू, मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यस प्रणालीमा आवद्ध हुन सक्नेछन् ।

यसका लागि डेविट/क्रेडिट कार्ड, क्यू. आर. कोड, मोबाइल जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैक खातामा स्वचालित रुपमा फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

विद्युतीय बिजक सम्बन्धी कार्यविधि, २०७४ (संशोधन सहित बमोजिम आन्तरिक राजस्व विभागमा सूचिकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले “विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६” बमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न पनि विभागले भनेको छ ।

सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले “विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६” बमोजिम प्रणालीमा परिमार्जन गरि यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने विभागले उल्लेख गरेको छ ।

त्यस्तै, प्रणालीमा आवद्ध बिक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्