वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै ठगीगर्ने महिला पक्राउ
काठमाडौँ, भदौ २४ । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
“पक्राउ परेकी निज चुँडालले एकजनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामनाबाट पक्राउ गरिएको हो,”– सूचना अधिकारी आचार्यले भने ।
निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको उनले बताए ।