डा. हरिहरदेव पन्त नवौं स्मृति दिवस : स्व. पन्त र लघुवित्तको योगदानको चर्चा, पुरस्कार वितरण



काठमाडौं,भदौ २४ । मुलुकको आर्थिक–सामाजिक उत्थानमा लघुवित्त निर्विकल्प माध्यम भएको सरोकारवालाले बताएका छन् । आइतवार काठमाडौंमा आयोजित डा. हरिहरदेव नवौं स्मृति दिवस समारोेहमा विज्ञ एवं सरोकारवालाले लघुवित्तमार्फत विपन्न वर्गका नागरिकको आर्थिक उत्थानमा स्व. पन्तले पु¥याएको योगदानको चर्चा गरे । साथै वित्तीय पहुँच, गरीबी निवारण, महिला उद्यमशीलता विकास र रोजगारी सृजनामा उनको सोचअनुसार नै लघुवित्तले विशिष्ट भूमिका निर्वाह गरेको बताएका हुन् ।

कार्यक्रममा संघीय सांसद भगवती चौधरीले लघुवित्त सेवामुखी वित्तीय गतिविधि भएको भन्दै यस क्षेत्रको मर्म बुझेकाहरू मात्र लघुवित्तमा लाग्नुपर्ने बताइन् । ‘लघुवित्त सेवा गरीबमुखी हुनुपर्छ, नाफाभन्दा सेवामा केन्द्रित हुनुपर्छ,’ उनले भनिन् । लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या समाधानका लागि सरोकारवाला सबैको साथ, सहयोगको खाँचो उनले औंल्याइन् ।

समारोेहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विमलराज खनालले लघुवित्त क्षेत्रको विकास, विस्तारमा डा. पन्तको योगदानको स्मरण गरे ।  डा. पन्तले शुरू गरेको लघुवित्त सेवाले नेपालको आर्थिक सामाजिक विकास र महिला सशक्तीकरणमा विशेष योगदान पुर्‍याएकोे उनले बताए ।

प्राध्यापक डा. फत्तबहादुर केसीले नेपाली समाजमा आर्थिक तथा सामाजिक रूपान्तरण लघुवित्तको मूल उद्देश्य हुनुपर्ने बताए । यस्तै लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले डा. पन्तको मार्गदर्शन अनुसार दूरदराजका गाउँमा विपन्न, गरीब र महिलामा लघुवित्तको सेवा पुगेको बताए ।

स्व. पन्तको स्मृतिमा संघीय राजधानी काठमाडौंसहित सातै प्रदेशमा आयोजित कार्यक्रममा सातजनालाई ‘डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार’ वितरण गरिएको छ । उक्त पुरस्कारको राशी रू. ५० हजार रहेको छ । यसैगरी कपिल पोखरेल र प्रियंका केसीलाई रू. ५० हजार पुरस्कार राशीको ‘शैक्षिक उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको छ । यस वर्षको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता’ पुरस्कार भने नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रू. १ लाख रहेको छ । समारोहमा लघु उद्यमशीलहरूको सफलताको कथासंग्रह ‘समृद्धिको मार्गमा २०८१’ नामक पुस्तक विमोचन समेत गरिएको थियो ।

निर्धन संस्था र डा. हरिहरदेव पन्त फाउन्डेसनको आयोेजनामा सञ्चालित उक्त कार्यक्रम निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा डा. हरिहरदेव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दनदेव पन्तले निर्धन संस्थामार्फत नेपालमा लघुवित्त सेवा शुरू गरेका डा. हरिहरदेव पन्तको योगदानको स्मरण गरे ।

कार्यक्रममा सहभागीहरूलाई डा. पन्त तथा लघुवित्तको बारेमा डकुमेन्ट्री समेत देखाइएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका वरिष्ठ ब्यववस्थापक जिताराम गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्