गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग



काठमाडौं,भदौ २४ । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आइतबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।

नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता संघ र नेपाल निर्यात व्यवसायी महासंघका प्रतिनिधि तथा गलैँचा व्यवसायीले अर्थमन्त्री समक्ष नेपाली गलैँचाको ऊनी धागो कटाइ, रङ्गाइ, धुलाइ र बुनाइमा प्राप्त भइरहेको भ्याट छुट सुविधा खारेज गरिएकाले समस्या भएको बताए । 

नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता संघका संस्थापक अध्यक्ष रामबाबु गुरुङले नेपाली गलैँचाको प्रमुख कच्चा पदार्थ ऊनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरुले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताए ।

त्यस्तै, तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्थालाई पनि सरकारले खारेज गरेकोमा पुनः कार्यान्वयनमा ल्याइनुपर्ने माग व्यवसायीहरुको छ । गलैँचा बनाउँदा प्रयोग हुने सिल्क धागोमा ऊन सरह भन्सार र भ्याट छुट हुनुपर्ने माग पनि गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर छुट दिने विषय आर्थिक ऐनबाट सम्बोधन हुने भएकाले यस विषयमा संसदबाटै सम्बोधन गर्नुपर्ने बताए । यद्यपि, उद्योगी व्यवसायीका हरेक खालका समस्या सुन्न र त्यसको समाधान खोज्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । ‘मुलुकको विद्यमान अर्थतन्त्रको दबाब र शिथिलताको अवस्थाबाट बाहिर निकाल्न सरकार निजी क्षेत्रका कुरा सुन्न तयार छ । निजी क्षेत्रको मनोबल कसरी उकास्ने भन्ने विषयमा सरकार सम्बेदनशील र गम्भीर छ । तपाईंहरुका समस्यालाई पनि गम्भीर रुपमा लिएको छु र यस विषयमा के गर्न सकिन्छ भनेर चाँडै नै जानकारी दिनेछु,’ अर्थमन्त्री पौडेलले भने। रासस

प्रतिक्रिया दिनुहोस्