देशको विद्युत् भारततर्फ निकासी, स्वदेशी उद्योगमा भने अघोषित लोडशेडिङ !
वीरगञ्ज,भदौ २४ । विद्युत् व्यापारमा एकाधिकार लिएर बसेको नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निकासी गरेर आयआर्जन गरिरहेको बताइरहँदा मुलुककै ठूलो बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगीले विद्युत् कटौतीले हैरानी खेप्नुपरेको बताएका छन् ।
उद्योग चलिरहेका बेला पटकपटक विद्युत् कटौतीले उत्पादन प्रभावित भएको उद्योगीले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका उद्योग समिति अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष हरि गौतम अघोषित लोडशेडिङका कारण उद्योगले नोक्सानी व्यहोर्नुपरेको बताउँछन् । गौतमले भने, ‘प्राधिकरणले बारा–पर्सा औद्योगिक कोरिडोरमा गुणस्तरीय आपूर्ति दिएको छैन । दैनिक ५/७ घण्टा अघोषित लोडशेडिङ भइरहेको छ ।’
कोरिडोरका उद्योगीले नियमित विद्युत् आपूर्ति नपाएको बताएका छन् । विद्युत् प्राधिकरणले भारततर्फ विद्युत् निकासी गरिरहँदा स्वदेशी उद्योग भने नियमित आपूर्ति नपाएर समस्या झेलिरहेको उनीहरूले बताए । स्वदेशमै आपूर्ति सहज नभएको अवस्थामा प्राधिकरणले निकासी प्रचार गरेको भन्दै उद्योगीहरूले आलोचना गर्दै आएका छन् ।
कोरिडोरका उद्योगमा दैनिक ८/१० पटक विद्युत् कटौती हुने गरेको खाद्यान्न उद्योग सञ्चालक सुरेश रुंगटाले बताए । प्राधिकरणले प्रसारण क्षमता सुधार नगर्दा यो समस्या आएको बुझाइ रुंगटाको छ ।
‘कोरिडोरमा विद्युत्को माग बढेपनि प्रसारणका पूर्वाधारको क्षमता नबढेपछि समस्या भएको छ । प्राधिकरणले सीमित क्षमताको प्रसारण पूर्वाधारबाटै आपूर्ति गर्दा कटौतीको समस्या भइरहेको छ,’ रुंंगटाले भने । वीरगञ्ज क्षेत्रका उद्योगमा ३०० मेगावाट विद्युत् माग गरेको प्राधिकरणका अधिकारीहरूले बताउने गरेका छन् ।
प्राधिकरणले नियमित विद्युत् नदिँदा उद्योगको उत्पादन अवरुद्ध भएको उद्यमीले बताउने गरेका छन् । प्राधिकरणले प्रसारणको पूर्वाधारमा सुधार नगरेसम्म विद्युत् फालाफाल रहेको अवस्थामा पनि उद्योग भने समस्यामा पर्ने अवस्थामा रहिरहने दाबी उद्योगीको छ ।
विद्युत्को गुणस्तरीय आपूर्ति नहुँदा अहिले कोरिडोरका उद्योगमा दैनिक ८ घण्टाजति उत्पादन अवरुद्ध भएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सुवोधकुमार गुप्ताले बताए । ‘दिनमै १० पटकभन्दा बढी ट्रिपिङ भइरहेको छ । यसबाट काम गर्ने समयमा ८ घण्टाजति उद्योगको उत्पादन अवरुद्ध भएको छ । कसरी उद्योग चल्छ ?’ उनले भने ।
बारा–पर्साका उद्योगीका संघ÷संस्थाले प्राधिकरणलाई नियमित र गुणस्तरीय आपूर्तिका लागि जिम्मेवार बनाउन आवश्यकताजति दबाब दिन नसकेको पनि उद्योगी रुंगटाको निष्कर्ष छ । बारम्बार विद्युत् कटौतीले उत्पादनमा रहेको कच्चा पदार्थ खेर जाँदा कोरिडोरका उद्योगीले लाखौं रुपैयाँबराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको उद्यमीले बताएका छन् ।
बढी विद्युत् खपत गर्ने उद्योग यस्तो नोक्सानीबाट बढी प्रभावित भइरहेको फलामे डण्डी उत्पादक जगदम्बा इन्टरप्राइजेजका सञ्चालक रमेश अग्रवाल बताउँछन् । बारा–पर्सा उद्योग संघका उपाध्यक्षसमेत रहेका अग्रवालले एक पटक ट्रिपिङ हुँदा १ लाख रुपैयाँजतिको आर्थिक क्षति हुने बताए ।
उद्योगमा घण्टैपिच्छे ट्रिपिङ भइरहेको उद्यमी बताउँछन् । पटकपटकको ट्रिपिङले कच्चा पदार्थ खेर जानेदेखि उद्योगको उपकरण बिग्रिने, मोटर जल्नेजस्ता नोक्सानी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश उद्योग समितिका अध्यक्ष दीपेश अग्रवालको गुनासो छ ।
‘हामीले पैसा तिरेर सेवा लिइरहेका छौं । प्राधिकरणले गुणस्तरीय सेवा दिँदैन र उसको कारणले उद्योगमा क्षति पुगिरहेको छ भने क्षतिपूर्तिको लागि प्राधिकरणलाई जिम्मेवार बनाउनुपर्छ,’ अग्रवालले भने । प्राधिकरणले डिमाण्ड चार्ज लिएकाले मागअनुसार गुणस्तरीय विद्युत् आपूर्ति गर्नु प्राधिकरणको दायित्व भएको उद्यमी रुंगटा बताउँछन् ।