लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान
रुकुम पूर्व,भदौ २३ । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान भएका छन् । रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान भएका हुन् ।
वि.सं. २०४८ साल असार ९ गतेका साबिक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उक्त मुद्दामा दोषी ठहर भएपछि केसी फरार भएका थिए ।
आइतबार सांसद केसी आफै रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए । उपस्थित पश्चात् अदालतले कैद भुक्तानीको लागि रुकुम पश्चिमको कारागार चलान गरेको डिएसपी खरेलले बताए ।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा दोषी ठहर रहेको रुकुमपूर्व जिल्ला अदालतका स्रेस्तादार तथा सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए ।