नेपालमा एक वर्षमा सात हजार २२३ जनाले गरे आत्महत्या
काठमाडौ,भदौ २३ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए ।
उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए । एसडिजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए ।
उनकाअनुसार आत्महत्याका धेरै कारणमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको बताए । विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औं कारण रहेको बताए । विश्वमा वार्षिक सात लाख मानिस आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्यांक रहेको छ।