सिक्का छाप्न वर्षमा साढे २ अर्बको सुन! आखिर किन्छ कसले ?



काठमाडौँ,भदौ २३ । यो साल त दशैँ तिहारको मौसममा पनि असर्फी नपाइने पक्कापक्की भएको छ । सुनचाँदी व्यवसायीले आफ्नै सुरले सिक्का छापेर बेचे भने बेग्लै कुरा, नत्र राष्ट्र बैंकले भने असर्फी नबेच्ने भएको छ । यो साल विक्री योग्य सुनकै अभाव भएको भन्दै केन्द्रिय बैंकले असर्फी छापेर बेच्न नसक्ने भएको हो ।

तर विगतका वर्षलाई हेर्ने हो भने असर्फीको विक्रीसम्बन्धी तथ्यांकले धेरैलाई आश्चर्यमा पारिदिन सक्छ । २०७९ साउन १ देखि २०८० असार ३२ सम्मको एक आर्थिक वर्षमा मात्रै करीब १ अर्ब ७० करोडको सुन र चाँदीका सिक्काहरु विक्री गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

यो एक वर्षमा केन्द्रिय बैंकले २.५, ५ र १० ग्रामका गरेर ३८ हजार ६४९ वटा सिक्का बनाएको थियो, जसको बजार मूल्य २ अर्ब २७ करोड ५२ लाखभन्दा माथि छ । चाँदीको सिक्का अर्थात् मेडालियन पनि २१ २३७ वटा उत्पादन भएको थियो, जसको बजार भाउ ३ करोड ४० लाख हाराहारी थियो ।

यसमध्ये वर्षभरीमा १ अर्ब ६७ करोड ६७ लाख मूल्य बराबरका २८ हजार ७७३ थान असर्फी विक्री भएको राष्ट्र बैंकले जनाएको छ । चाँदीका सिक्का भने १ करोड ७४ लाख ३२ हजार मूल्य बराबरको १० हजार ८९५ गोटा विक्री भएको थियो ।

यसरी वर्षभरीमा झण्डै ६० हजार वटा असर्फी र मेडालियन उत्पादन गरेर करीब ४० हजार वटा विक्री गरेको जनाएको छ । तौलका आधारमा हेर्ने हो भने पनि यसरी सिक्का बनाएर बेचिएको सुन र चाँदीको मात्रा असाध्यै धेरै देखिन्छ । परारको साल नै राष्ट्र बैंकले असर्फी छाप्न २२२ किलो ६३८ ग्राम सुन खर्चिएको थियो । त्यसमध्ये १६४ किलोभन्दा बढी सुन सिक्काको रुपमा विक्री भएको थियो ।

त्यस्तै २१२ किलो ३७० ग्राम चाँदीका सिक्का बनाएकोमा १०९ किलो चाँदीका सिक्का त्यसै वर्ष विक्री भएको थियो ।

कसले किन्छ ?

नेपालमा गरगहना बाहेक काँचो सुन किनेर राख्न पाइँदैन । सम्पत्ती थुपार्ने उद्देश्यले सुन वा चाँदीमा लगानी गर्न नपाइने कानूनी व्यवस्थाको एक महत्वपूर्ण छिद्रका रुपमा असर्फीलाई लिइँदै आएको छ ।

एक जनाले कतिवटा सम्म वा कति तौलसम्मका असर्फी राख्न पाउने भन्ने कुनै प्रतिबन्धात्मक कानूनी व्यवस्था छैन । असर्फी खरीद गर्न भनसुनको आवस्यकता भए पनि यसका लागि खासै आयस्रोत र अन्य कानूनी हैसियतका कागजात पनि बुझाउनु पर्दैन ।

राष्ट्र बैंकले १० ग्रामसम्मको सुनका असर्फी बनाएर बेच्ने भएकाले एउटै सिक्काको भाउ १ लाखभन्दा माथि पर्छ । यसले बैध वा अबैध जुनसुकै स्रोतबाट आर्जन भएको सम्पत्ती पनि शुध्दिकरण गरेर भण्डारण गर्न मद्दत मिल्छ । यही कारण अधिकांश नेपालीको हातमा असर्फी नपुगेको भए पनि यसको विक्री आँकडा भने गज्जब राम्रो छ ।

अधिकांश राजनीतिज्ञ र प्रशासक तथा केही व्यवसायीले यस प्रकारको सुनमा लगानी गर्छन् । तर अधिकतर प्रशासक र राजनीतिक बृत्तका व्यक्तिहरुले नै असर्फी ज्यादा किन्ने र थुपार्ने गरेको अनुभव राष्ट्र बैंकका पुराना अधिकारीहरुसँग छ ।

‘व्यापारीले चाहीँ एक किने भने पनि भाउ बढेपछि बेच्ने रहेछन् । तर प्रशासक र राजनीति गर्नेहरुले भने साँचेर राख्ने गरेको देखिन्छ’, राष्ट्र बैंकका एक पूर्व कार्यकारी निर्देशकले भने ।

प्रतिक्रिया दिनुहोस्