दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, ५० जना विद्यार्थी भर्ना लिने



झापा,भदौ २३। व्यवसायी दुर्गा प्रसाईंको झापा स्थित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।  लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा अध्यापन गराउने औपचारिक स्वीकृति पाएको हो। 

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए । 

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै आसाय पत्र प्राप्त प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरे पनि अध्यापनको स्वीकृति नपाउन कक्षा सञ्चालन गर्न पाएको थिएन ।

२०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित सञ्चालनमा आएको थियो । सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । 

सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन  शुरू हुने बताए । 

विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए। पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले बताए । “मेची अञ्चलबासीका लागि यो महत्त्वपूर्ण उपलब्धि र खुशीको विषय हो”, उनले भने । बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्