चिकित्सा शिक्षा आयोगद्वारा एमबिबिएस सिट सङ्ख्या निर्धारण



काठमाडौ,भदौ २३ । चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहका लागि विभिन्न विषयमा आठ हजार ७० वटा सिट निर्धारण गरेको जानकारी दिए । 

उनले यो वर्ष एमबिबिएसका लागि थप चार वटा स्वास्थ्य संस्थाले सम्बन्धन पाएको जानकारी दिँदै ती संस्थालाई ५०/५० वटाका दरले सिट तोकिएको बताए । झाका अनुसार थप भएका कलेजमा तीन वटा सरकारी प्रतिष्ठान र एउटा निजी कलेज छ । 

सरकारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यस्तै निजीतर्फ बी एन्ड सी मेडिकल कलेजले सिट पाएको छ । 

उनले एमबिबिएसमा सबै कलेजमा गरेर दुई हजार १४० वटा सिट निर्धारण भएको बताए । उनले बिपिएचमा ६७०, बिएनएसमा ९८०, बिडिएसमा ५७५, बिएस्सी नर्सिङका लागि १९९० सिट निर्धारण भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्