पाल्पामा शिक्षक पाउनै मुस्किल



पाल्पा,भदौ २२ । पाल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा महत्वपूर्ण विषयको पठनपाठन प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक व्यवस्थापन गर्न नसक्दा पठनपाठन प्रभावित बनेको हो । यी विषयको शिक्षकका लागि पटक पटक विज्ञापन गरिए पनि शिक्षक अभावले दरखास्त नपरेको विद्यालयले गुनासो गरेका छन् । 

ग्रामीण क्षेत्रका विद्यालयले चार/पाँच पटकसम्म विज्ञापन गर्दा पनि दरखास्त नपरेपछि अन्य विषयको शिक्षकबाट कक्षा सञ्चालन गर्न बाध्य भएका छन् । कतिपय विद्यालयमा पठनपाठन नै प्रभावित हुने गरेको छ । 

विज्ञान, गणित र अङ्ग्रेजी शिक्षकका लागि पटक पटक विज्ञापन गर्दा पनि दरखास्त नपरेर हैरान भएको माथागढी–५, हात्तीलुङस्थित हात्तीलुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक उमा थापाले बताए  । 

माध्यमिक विद्यालयमा विषयगत शिक्षक दरबन्दी नभएको अवस्थामा अस्थायी दरबन्दी, राहत, पालिका र सङ्घले अनुदान दिएको छ । सोही अनुदानबाट विषयगत शिक्षकको व्यवस्थापन गरिएको छ । कतिपय विद्यालयमा मावि तहको कुनै पनि दरबन्दी नहुँदा राहत र अनुदानबाट शिक्षकको व्यवस्था गरिएको छ । 

पटक पटक विज्ञापन गरेर शिक्षक राखे पनि उनीहरू टिकेर बस्ने अवस्था छैन । शिक्षक स्थायी रूपमा विद्यालयमा नबस्दा विद्यार्थीले एक शैक्षिक सत्र पनि पूरा पढ्न नपाएको नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य रामप्रसाद ढकालले बताए । सहरी क्षेत्रमा जसोतसो शिक्षक व्यवस्थापन भए पनि ग्रामीण क्षेत्रका विद्यालयले पछिल्लो एक दशकदेखि शिक्षक अभाव झेल्दै आएको उनले बताए । 

शिक्षक अभाव कम गर्न शिक्षक छनोटमा विज्ञान, गणित र अङ्ग्रेजी विषयको अध्यापन अनुमतिपत्र अनिवार्य गर्न नहुने शिक्षकहरू बताउँछन् । यस्तै शिक्षक दरबन्दी मिलान गरेर तत्काल आवश्यक भएको स्थानमा शिक्षकको व्यवस्थापन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । 

प्रत्यक्ष मार विद्यार्थीलाई

शिक्षकको व्यवस्थापन असहज बन्दै जाँदा यसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा परेको छ । जिल्लाका आधारभूत विद्यालय र माध्यमिक विद्यालयका विद्यार्थीले विज्ञान, गणित र अङ्ग्रेजी विषय शिक्षकको पूरा पढाइ नपढी शैक्षिक सत्र गुजार्नुपर्ने बाध्यता छ । 

अस्थायी, राहत र अनुदानबाट शिक्षकको व्यवस्थापन भए पनि शिक्षकहरू शैक्षिक सत्रको पूरा अवधि बस्ने अवस्था नहुँदा विद्यार्थी मारमा परेको तिनाउ–५ स्थित बुद्ध विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुव पङ्गेनीले बताए । 

राहत र अनुदानमा नियुक्त गरेका शिक्षक केही महिनापछि सुगम स्थान वा स्थायी दरबन्दीमा नाम निकालेर अन्तै जाने गरेको उनले बताए। विज्ञापनबाट शिक्षक व्यवस्थापन नहुँदा प्रावि तहको शिक्षकलाई माथिल्लो कक्षा पढाउन दिनुपर्ने अवस्था रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्