एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध



काठमाडौं,भदौ २२ । एनसेलले शुक्रवार टिकटक प्याक सञ्चालनमा ल्याएको छ । साथै सधैं अनका सबै प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरिएको छ ।

यससँगै एनसेलका सबै ग्राहकहरूले अब मजाले टिकटक चलाउन सक्नेछन् । एनसेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ग्राहकहरूले करसहित १७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्नेछन् । 

सरकारबाट टिकटकको प्रयोग÷पहुँचमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा टिकटक थपिएको हो । यसको अर्थ अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्करूपमा आउने डेटाबाट चलाउन पाउनेछन् ।

‘हामीले शुक्रबारबाट लागू हुने गरी सुलभदरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं । साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं । यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं,’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले भने ।

एनसेलले सधैं अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याक प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधैं अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरू बाहेक १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् । 

त्यसैगरी, सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याकअनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरूअन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।      

मन्त्रिपरिषद्को यही भदौ ६ गतेको बैठकले गत कात्तिकबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । उक्त निर्णयपश्चात नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रवार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्